बिहीबार, जेठ ३, २०८१

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य

नेपालखोज २०७९ वैशाख १८ गते २१:३५

काठमाडौं । भारतले इन्धनको मूल्य झन् बढाएर पठाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आइतबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थ किन्दा तिर्ने मूल्य झन् महंगो भएर आएको निगमले जनाएको छ ।

पछिल्लो मूल्य सूचीअनुसार पेट्रोलको खरिद लागत ७ रूपैयाँले महंगिएको छ भने, डिजेल १० रूपैयाँले बढेर पेट्रोल भन्दा महंगो भएर आएको छ । नेपाली बजार मूल्यअनुसार पेट्रोलभन्दा डिजेल १७ रूपैयाँ सस्तो छ तर निगमको खरिद मूल्य पेट्रोलभन्दा ११ पैसा महंगो बनेको छ।

निगमलाई पेट्रोलमा प्रतिलिटर घाटा २३ रूपैयाँ २ पैसा पुग्दा डिजलमा ४० रूपैयाँ १३ पैसा घाटा छ । १५ दिनमै निगमले पेट्रोलमा ७१ करोड र डिजेलमा ३ अर्ब ५ करोड रूपैयाँ घाटा बेहोर्नुपर्ने भएको छ ।

यता मट्टितेलको खरिद लागत करिब ७ रूपैयाँ बढेको छ भने हवाइ इन्धन ४/४ रूपैयाँले महंगिएको छ । यसैगरी निगमले प्रतिसिलिन्डर २५ सय ५१ रूपैयाँ पर्ने एलपी ग्यासको मूल्य अब २६ सय ५० रूपैयाँ पर्ने भएको छ ।

अझै निगमलाई १५ दिनमा ५ अर्ब १९ करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ । यस्तो घाटा अघिल्लो १५ दिनमा ३ अर्ब ७३ करोड हुने अनुमान गरिएको थियो । आईओसीले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार पछिल्लो १५ दिनको औसतका आधारमा १५ दिनका लागि नयाँ मूल्यसूची पठाउने गरेको छ ।

प्रतिक्रिया