मारिउपोलस्थित स्टिल उद्योगबाट ५० जनालाई उद्धार गरिएको रुसको दाबी

मस्को । युक्रेनको मारिऊपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झन्डै ५० जनालाई बाहिर निकालिएको छ । रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको आइतबार जानकारी दिएको छ ।
‘यही अप्रिल ३० मा मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर हामीले उनीहरूलाई सकुशल भवनबाट बाहिर निकालेका छौँ’, मन्त्रालयले भनेको छ ।
तीमध्ये २५ जनाले दिउँसोतिर त्यो ठाउँ छोडेका थिए भने बेलुकातिर २१ जनाले छोडेका थिए । त्यसपछि उनीहरूलाई मारिऊपोलबाट रुस तर्फ जाने बाटोमा पर्ने रुसको सिमानामा रहेको बेजिमेन्नीमा लगिएको छ । युद्धविरामको समयमा ती सर्वसाधारणहरूलाई घेराबन्दीमा रहेको मारिऊपोल स्थित एजोभस्टाल उद्योग परिसरबाट उद्धार गरिएको रुस र युक्रेन दुवैले पुष्टि गरेका छन् ।
अघिल्लो साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि उनीहरु थुनिएका थिए । थुनामा रहेका अन्य झण्डै एक हजार सर्वसाधारणहरूलाई बाहिर निस्कन दिने बारेमा अहिले पनि वार्ता भइरहेको छ । रासस/एएफपी








प्रतिक्रिया