आइतबार, पुष ६, २०८२

मारिउपोलको स्टिल उद्योगबाट उद्धार गरिएकाले त्यहाँको अवस्थाबारे के भने ?

नेपालखोज २०७९ वैशाख १९ गते ९:००

काठमाडाैं । रुसी घेराबन्दीमा रहेको मारिऊपोलको स्टिल उद्योगबाट बाहिरिएका युक्रेनी नागरिकहरूले रुसले गरेको निरन्तरको बमबारीबाट जोगिएर बस्दाको आफ्नो निराशाजनक अवस्थाबारे बताएका छन् ।

युक्रेन नियन्त्रित जापोरिझिया सहरमा सोमबार अबेरसम्म करिब सय जना नागरिकहरू पुग्ने ठानिएको छ । उक्त स्थानमा रहेकी बीबीसीकी संवाददाता लोरा विकर भन्छिन्, ‘हामीले केही महिला र बालबालिका उद्धार गरेर ल्याइएका मानिस राखेको केन्द्रतर्फ गइरहेको देखेका छौँ। यी मानिसहरू बमबारीबाट जोगिन ६० दिनसम्म एजोभस्टाल स्टिल उद्योगको सुरुङमा बसेका थिए ।’

रुसको नियन्त्रणमा रहेको इलाकाबाट उद्धार गरिएकामध्ये एकले रोयटर्स समाचार एजेन्सीलाई भनेका छन्, ‘हामीले के भो भोग्यौँ भन्ने तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न ।’

‘मलाई बङ्करले पनि यसको सामना गर्नेछैन भन्ने भयानक डर थियो,’ ३७ वर्षीया नतालिया उस्मानोभाले भनिन् ।

‘जब बङ्कर हल्लिन थाल्यो, म त्रसित थिएँ… हामीले कैयौँ दिनदेनि घाम देखेका छैनौँ ।’ रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो भिडिओमा रुस नियन्त्रित मारिओपोलको पूर्वी भेगस्थित शिविरमा मानिसहरूलाई बसमा हालेर लगिँदै गरेको देखिन्छ ।

एजोभस्टालभित्रै रहेका युक्रेनी लडाकुहरूले थप नागरिक र युक्रेनी घाइते सेना त्यहाँबाट अन्यत्र जानसक्ने आशा व्यक्त गरेका छन् ।

तर ती लडाकुले आत्मसमर्पण नगर्ने आश्वस्त पारे । स्टिलउद्योगबाट मानिसहरूलाई उद्धार गरेर अन्यत्र लैजाने काममा संयुक्त राष्ट्रसंघ र रेडक्रस दुवै संलग्न छन् । बीबीसी

प्रतिक्रिया