सोमबार, वैशाख १५, २०८२

अब क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्न पाइने

एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा विद्युतीय भुक्तानी गर्दा प्रयोजन खुलाउनुपर्ने

नेपालखोज २०७९ वैशाख १९ गते १३:५१

काठमाडौं । अत्यावश्यक अवस्थामा मात्र क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूका नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था जारी गरिएको राष्ट्र बैैंकको भनाइ छ । राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘सामान्यतः क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइने छैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन । साथै क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्नेछ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्नेछ ।’

यसैगरी विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेस गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुनबमोजिम सहुँला, बुझाउँला भन्ने व्यहोराको विद्युतीय रूपमा स्वः घोषणा गर्न लगाउनुपर्नेछ । विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ ।

प्रतिक्रिया