सरकारले भन्याे- कोरोना संक्रमणदर बढ्दै छ, स्वास्थ्य सतर्कता अपनाऔं
काठमाडाैं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताए ।
सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए । न्युज एजेन्सी सोमबार नेपालसँग कुरा गर्दै उनले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्ड पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताए । सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिए ।
सहप्रवक्ता अधिकारीले भने, ‘हामी विश्वव्यापी रुपमा कोभिड- १९ को संक्रमण वा कुनै नयाँ संक्रमण आउँदा थाहा पाउने, त्यसको विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्ममा जोडिरहेका हुन्छौँ । अन्तर्राष्ट्रिय स्वास्थ्य विधि नियमावली अनुसार फोकल पर्सनको हिसावले, फोकल इस्यूको हिसावले पनि हाम्रो सबै कुराहरुको जानकारी भइरहेको हुन्छ । अहिले पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढीरहेको छ । विश्वव्यापी रपमा संक्रमण घटेको भएपनि हामी बसको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढीरहेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले प्राविधिक विश्लेषण गर्ने र सबैसँग वकालत गर्ने बुझाउने सबै भुमिकाहरु बढाउनका लागि कामहरु अघि बढाइसकेको छ, हामीले संक्रमणको सबै अवयव हेर्ने हो भने आम सर्वसाधारणको भुमिका नै सबैभन्दा बढी महत्वपूर्ण हुन्छ ।’
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताएका छन् । उनले यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताए । सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनु पर्ने बताएका हुन् । उनले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने बताए ।
सहप्रवक्ता अधिकारीले भने, ‘अहिले फैलिरहेको संक्रमण ओमिक्रोनकै एउटा प्रजातिकै रुपमा अहिलेसम्मको प्रारम्भिक तथ्यहरुबाट त्यही आइरहेको छ । पछिल्लो तथ्यांकहरु प्रारम्भिक छन् त्यसैले धेरै कुराहरु आउन बाँकी नै छ । तर जति आएका छन् त्यस तथ्यले संक्रामक छ, त्यसलाई रोकथाम गर्नका लागि हामीले विगतमा गरेका उपायहरु प्रभावकारी छन् । कोभिड १९ बिरुद्धको खोप नै प्रभावकारी छ । यसको जोखिमका सन्दर्भमा हामीले समयमै सावधानी अपनाउन सके अस्पताल भर्ना, मृत्यु र अंगभंग हुने कुरा जस्ता जोखिमलाई कम गर्न सकिन्छ ।’
सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहप्रवक्ता अधिकारीले निर्वाचनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्दा पनि सुरक्षित तरिकाले गर्न र मतदाताहरुलाई पनि सावधानी अपनाउन आग्रह गरे ।
सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरे । उनले कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाले समयमै कोरोनाबिरुद्धको खोप लगाउन पनि अपिल जनाएका छन् ।
प्रतिक्रिया