मैले जिते श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्छु: सिंह

काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको नगरप्रमुख उम्मेदवार सिर्जना सिंहले श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताएकी छन्।
नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंले आज आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा ट्रेड युनियनको भूमिका’ विषयक अन्तरक्रियामा उनले आफू नगरप्रमुखमा निर्वाचित भएर श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताइन् ।
“श्रमको सम्मान गरेमात्र देशको विकास हुन्छ, म नगरप्रमुखमा निर्वाचित भएमा श्रमको सम्मान गर्दै श्रमिकसँग सहकार्य गरेर अगाडि बढ्नेछु”, उनले भनिन्। सिंहले काठमाडौंभित्रको फुटपाथको व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले २०३३ सालमा आफूले नेविसंघको क्रियाशील सदस्यता लिएर विद्यार्थी राजनीति सुरु गरे पनि पार्टीभित्र कुनै पद नलिएको बताउँदै अब पद लिने बेला आएको उल्लेख गरिन् ।
“मैले पार्टीभित्र कुनै पद पनि लिइन, राजनीतिक पनि छोडिन, प्रजातन्त्र पुनःस्थापनाका र जनताको हक अधिकारका लागि निरन्तर लडिरहेँ”, उनले भनिन्।
नगरप्रमुख उम्मेदवार सिंहले रात्रिकालीन समयमा महिलालाई सुरक्षित तवरले काठमाडौंभित्र हिँड्ने वातावरण निर्माणका लागि सबै वडाभित्र सिसी क्यामरा र पोलपोलमा बिजुलीबत्तीको व्यवस्था गर्ने स्पष्ट पारिन्। उनले श्रमिक महिलाका बालबालिकालाई राख्नका लागि शिशु स्याहार केन्द्रको व्यवस्था गर्नाका साथै गृहिणी महिलाका लागि विशेष भत्ताको व्यवस्था गर्ने बताइन् ।
ट्रेड युनियन कांग्रेसका नेता एवम् पूर्वसांसद अच्युतराज पाण्डेले काठमाडौंको विकासका लागि यसपटक महिला उम्मेदवार सिंहलाई विजय गराउनुपर्ने बताइन् । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले श्रमको सम्मान गर्न नसक्दा मुलुक पछाडि परेको भन्दै श्रमको सम्मान गर्ने पार्टी कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न सम्पूर्ण श्रमिकलाई आग्रह गरिन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका सहकोषाध्यक्ष सुशीला घिमिरे, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंका अध्यक्ष देवीप्रसाद भुसाल लगायतले काठमाडौं महानगरको प्रमुखमा महिलालाई टिकट दिएर कांग्रेसले महिलाप्रति सम्मान गरेको बताइन् ।
प्रतिक्रिया