स्रष्टा तारकिणीका लागि सहयोग संकलन अभियान

नेपालखोज २०७९ वैशाख २१ गते १२:३६

काठमाडाैं । कवि तथा पत्रकार राजेन्द्र तारकिणीको सहयोगार्थ सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग संकलन अभियान चलाएको छ । अभियानअन्तर्गत हालसम्म रु चार लाख ५० हजारभन्दा बढी संकलन भएको छ ।

हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाउनुभएका तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय छन् । उनको हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ । उपचार सफल भएमा उनको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकले बताएका छन् । ‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै रु १८ लाखदेखि रु २० लाखसम्म खर्च हुने बताइएको छ ।

अभियान संयोजकसमेत रहनुभएका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरका अनुसार हालसम्म १२१ जनाबाट सहयोग रकम संकलन भएको हो ।अध्यक्ष मगरले भने, ‘एक प्रतिभाशाली स्रष्टा, जो श्रवण अपांगताका बाबजुद साहित्य-कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइएका छन् । उनको उपचार गर्ने दायित्व राज्यको हुनुपर्ने हो । राज्यको नजरबाट वञ्चित तारकिणीजस्ता स्रष्टाका लागि हामी हातेमालो गर्दै सहयोग रकम संकलन गरिरहेका छौं ।’

विभिन्न संस्था-समूहबाट सहयोग संकलन भइरहेको प्रतिष्ठानका केन्द्रीय महासचिव डिजी शर्माले बताए । अनेसास जापान शाखाका साथै किराँत-राई यायोख्खा शाखा युनाइटेड अरब इमिरेटस् युएईले सहयोग संकलन गर्न लागेको शाखाका उपाध्यक्ष सरुशीतल राईले जानकारी दिए । प्रतिष्ठानले तारकिणीको उपचारका लागि सबै क्षेत्र, तह र तप्कालाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया