बिहीबार, वैशाख १३, २०८१

‘सलामवालेकुम’ भनेर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ ठाउँ बम राखिएको सूचना कसले दियो

नेपालखोज २०७९ वैशाख २१ गते १२:५९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य अवस्थामा फर्किएको छ । अज्ञात व्यक्तिले विदेशबाट फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलको ६ ठाउँमा बम राखेको हल्ला फैलाएपछि तनावपूर्ण अवस्थामा रहेको विमानस्थलमा केही नभएको पुष्टि भएपछि करिब एक घण्टापछि अवस्था सामान्य बनेको हो । यद्यपि पूर्व निर्धारित फ्लाइट केही समय पर सरेको छ ।

अज्ञात व्यक्तिले बम राखेको सूचनापछि बन्द भएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु हुँदैछ । बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको हाे ।

विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । बम राखिएको सूचना अज्ञात फोनमार्फत दिएका थिए । भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीको भनाइ छ । विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले भने ‘डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको छ । ६ ठाउँमा बम भएको भ्रामक सूचना आएपछि हामीले सेनासहितको सहयोगमा सर्च गर्दा केही पाइएन । अब अवस्था सामान्य भयो । सबै ठीकठाक रहेको पुष्टि भइसकेको छ । यात्रुहरुलाई नडराउन र यात्राको क्रममा जोखिम नहुने विश्वस्त पार्छाैं ।’

उनले विमानस्थलबाट बाहिर निकालिएका यात्रुहरुलाई पुनः विमानतर्फ पठाउन थालिएको र अवस्था सामान्य बनेको जानकारी दिए । प्रहरीले भ्रामक सूचना दिनेउपर अनुसन्धान भइरहेको जनाएको छ । अहिले विमानबाट झारिएका यात्रुहरुलाई प्रवेश दिइएको छ भने अन्यलाई पनि उडान तालिकाअनुसार प्रवेश दिइने विमानस्थल कार्यालयले जानकारी दिएको छ । यसअघि विदेशबाट हिन्दी भाषामा बोल्ने व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा ६ वटा बम भएको जानकारी दिएका थिए । नागरिक उड्डयन प्राधिकरणका ड्युटी अफिसरले फोन उठाउने बित्तिकै ‘सलामवालेकुम’ भनेर सम्बोधन गर्दै हिन्दी भाषामा डोमेस्टिक टर्मिनलमा बम भएको भन्ने भ्रामक सूचना सुनाउँदै फोन काटेका थिए ।

त्यसपछि प्राधिकरणका अधिकारीले सुरक्षा निकायमा जानकारी गराएसँगै सर्च अप्रेशन चलाइएको थियो । सेनाको बम डिस्पोजल टोलीसहितका सुरक्षाकर्मीले सर्च गर्दा केही नभेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एसएसपी भीम ढकालले जानकारी दिए ।

प्रतिक्रिया