आयात बढ्नुमा निजी क्षेत्र होइन सरकारी नीति दोषी : गोल्छा

नेपालखोज २०७९ वैशाख २१ गते २०:२५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्याधिकरुपमा आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको आरोप लगाएका छन् । आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको बताएका हुन् ।

उनले सरकार बिगतदेखि राजस्वमुखी भएकाले राज्य राजस्श्वमुखी भएर हिडुन्जेलसम्म आर्थिक अवस्थामा निरन्तर दबाब परिरहने बताए । गोल्छाले निजी क्षेत्रले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग कहिल्यै तुलना नगरेको बताए । उनले मुलुकको अहिलेको आर्थिक अवस्थालाई श्रीलंकासँग तुलना गर्नु नै गलत भएको बताए । अध्यक्ष गोल्छाले नेपालको वर्तमान अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नाले नेपालको छवि बिग्रिएको बताए ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालमा पनि अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखिन थालेको बताएका छन् । श्रीलंकामा शासकले हचुवाको भरमा निर्णय गर्दा मुलुकको अर्थतन्त्रमा समस्या बढेको भन्दै वाग्लले नेपालमा पनि त्यस्तै प्रवृति हाबी हुने गरेको बताए । वाग्लेले श्रीलंकामा जथाभावी रूपमा कर चलाउँदा समस्या भएको बताउँदै कर नीति चलाउँदा सजग हुनुपर्ने बताए ।

त्यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले पोहोरबाटै चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्र बैंकको १९ प्रतिशतको कर्जा विस्तार गर्ने लक्ष्य पनि पूरा हुन नसक्ने बताएका छन् । उनले पछिल्लो तथ्यांक विश्लेषण गर्दा चालु आर्थिक वर्षभर तरलता सहज नहुने देखिएको बताए । केसीले पछिल्लो समय सरकारले आयातलाई नियन्त्रण गरे पनि तरलता सुधार नहुने अवस्था रहेको बताए । आन्तरिक स्रोतबाट आगामी दिनमा १५ प्रतिशतले पनि ऋण विस्तार गर्न नसकिने बताए ।

प्रतिक्रिया