शुक्रबार, भदौ २८, २०८१

‘पारिवारिक पृष्‍ठभूमिले पनि कांग्रेसको सिद्धान्तलाई अँगाल्न सहयोग पुग्यो’

श्वेता खड्का २०७९ वैशाख २२ गते ११:५१

कलाकारिता, व्यवसाय अनि सामाजिक सेवाको बाटो हुँदै म यतिखेर खुला राजनीतिक मूलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखिनै महामानव बीपी कोइरालाको बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले अन्तत: उनै महामानवको विचारधारामा आफुलाई समाहित गर्दै नेपाली कांग्रेससँग आफ्नो आबद्धता जनाएकी छु । मैले लिएको यो राजनीतिक निर्णयप्रति विभिन्न कृया र प्रतिक्रियाहरु अवस्य नै प्राप्त हुनेछन् । यसरी प्राप्त हुने साकारात्मक र नकारात्मक दुबै किसिमका प्रतिक्रियाहरुलाई म सुझावको रुपमा ग्रहण गर्दै मेरो राजनैतीक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु ।

एउटा कलाकारले कुनै एक पार्टीको ब्यानर भित्र समाहित हुनुहुन्न भन्ने सोच ब्याप्त छ । कलाकारले कलाकारिता नै गर्नु पर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली कांग्रेसको राजनीतिक सिद्दान्तमा आफूलाई समाहित गराएकी छु । यो निर्णय लिनुभन्दा अगाडि मैले धेरै पटक स्व:संवाद, स्व:बिश्लेषण र स्व:बिचार गरेकी छु । मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक विकास , परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ती टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो । हामीले राजनीतिबाट जतिनै टाढा रहन खोजेपनी हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छ नै । त्यो प्रभावलाई हामी कदापी नकार्न सक्दैनौं । अत:राजनैतीको यो अछुण्ण प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ । मेरो यो पाइलामा आम परिवर्तनकारी, बिकासप्रेमी तथा बुद्दिजिवी बर्गको साथ सल्लाह र सुझाव पाउने आशा बोकेकी छु ।

राजनीती बिसुद्द ‘सामाजिक सेवा’को क्षेत्रहो नकी ‘ब्यवसायिक पेशा’ । राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई बिस्थापित गराउनको निमित्त अब हामी आफु पनि अग्रसर हुनु पर्ने आवश्यकता महशुष गरेकी छु । सँधै राजनीतिलाई ‘फोहोरी खेल’को रुपमा परिभाषित गर्दै नेताहरु प्रती ‘धारे हात’ लगाउने अनी गालीको बर्षा गर्ने हाम्रो निष्कृय प्रवित्तीलाई त्याग्ने बेला आएको छ । सिस्टम (प्रणाली) परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिंस्सा हुनु जरुरीछ । यस्को लागि राजनीतिनै एउटा उत्तम माद्यम हो। मैले यही माद्यमलाई आत्मसाथ गरेकी हुँ । यस्को लागि मैले आदरणिय बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।

मलाई थाहा छ, कुनै पनि राजनैतिक दलको संस्थागत सिद्दान्त खराब हुँदैन । त्यो सिद्दान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको ब्यक्तिगत आचरण मात्र खराब हो । एमाले, कांग्रेस, माओवादी, रा.प्र.पा लगायत सबै दलका संस्थागत सिद्दान्तहरु राम्रा छन् । सबै दलले बिकास, सम्बृद्दी र परिवर्तनको एजेन्डा उठाएका छन तर ति एजेन्डाहरु कार्यान्वयन तहमा असफल भएका मात्र हुन्। यही असफलताका कारण उधोग, ब्यवसाय, कलाकारिता, कृषि तथा पर्यटन लगायतका सबै क्षेत्रहरु प्रभावित भएका छन् । हाम्रो दैनिक ब्यक्तिगत जीवनमा पनि यस्को प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको छ । अत:केही सिमित ब्यक्तिहरुको स्वार्थका कारण असफल भएका ति एजेण्डाहरुलाई सफल बनाउनको निमित्त हामी सबैको सकृयताको खाँचो छ । पोखरी फोहर भयो भनेर पोखरीको ‘ लेउ ‘लाई गाली गर्नु भन्दा त्यो लेउ हटाउन आँफैंले पोखरी भित्र छिर्ने हिम्मत गर्नु पर्छ । अत: सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यस्को सरसफाइको लागि हाम्रो सक्रियता खाँचो छ ।

मैले आफ्नो राजनीतिक सक्रियताका लागि भने नेपाली कांग्रेसलाई चुनेकी छु । मेरो पारिवारिक पृष्‍ठभूमीले पनि मलाई नेपाली कांग्रेसको सिद्दान्तलाई अंगाल्न सहयोग पुगेको हो । नेपालको राजनैतिक परिवर्तनमा अहमम् भूमिका खेल्ने नेपाली काँग्रेश जस्तो विशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापती तथा सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यु प्रती हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो ब्यवसायिक, सामाजिक तथा राजनैतिक यात्राको लागि मलाई संधै हिम्मत,हौशला र उर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरु प्रती म हार्दिक नमन गर्दछु ।

विगतका दिनमा मैले यो पार्टीको लागि ब्यक्तिगत रुपमा त्यस्तो ठुलो योगदान दिन सकेकी छैन । आगामी दिनमा भने म मेरो मन बचन र कर्मले भ्याए सम्मको योगदान दिने प्रयास गर्नेछु । नेपाली कांग्रेसको नीति, सिद्धान्त र यस्को मूल्य मान्यतालाई आत्मसाथ गर्दै कुनै ब्यक्तिगत स्वार्थहरु नराखी स्वच्छ रुपमा सामाजिक बिकास र बिसुद्ध ‘सेवा’ को भाव बोकेर आफुलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन । साथै, म एउटा कलाकार र ब्यवसायी पनि भएको नाताले यस् दलभित्र रहेर तमाम ब्यवसायी र कलाकर्मीहरुको हक हितको निमित्त आफ्नो आवाज बुलंद गर्नेछु । सामाजिक सेवाको पाटोलाई अझ शसक्त रुपमा अगाडि बढाउनको निमित्त नेपाली कांग्रेससँगको आबद्धताले मलाई थप मार्ग प्रसस्त गराउनेमा विश्वस्त छु ।

अन्तमा: हरेक ब्यक्तिलाई आ-आफ्नो राजनैतिक स्वतन्त्रता छ । मेरो बैचारिक सिद्धान्तसँग मेल खाने राजनैतीक दलसंगको निकटता, आवद्दता वा सहकार्य पस्चात् पनि फरक बिचार राख्ने कुनै ब्यक्ती वा दल प्रती मेरो कुनै पुर्वाग्रह रहने छैन। जो जहाँ रहेपनी, जो जता गय पनि, देश र जनताको निमित्त निस्वार्थ भावले काम गर्न सकौं – जय नेपाल !

प्रतिक्रिया