आइतबार, भदौ ३०, २०८१

पोखरेलले सर्वोच्चमा भने- ‌श्रीमान् आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद

नेपालखोज २०७९ वैशाख २२ गते १३:३०

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही समयअघि सकिएको हो ।

बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको बताइएको छ । रिटउपर आजै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। बुधबारदेखि सुरु भएको सुनुवाइ सो दिन नभ्याइएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज इजलासमा पोखरेलको तर्फबाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गरेका थिए । यस्तै पोखरेल आफैले पनि बहस गरेका थिए ।

आईजीपी नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका एआईजी पोखरेलले इजलाससमक्ष अन्तरिम आदेश नआए आफूलाई अपुरणीय क्षति हुने बताएका हुन् । दुवै पक्षको सुनुवाइपछि पोखरेलले इजलाससमक्ष आफ्नो क्षमता र योग्यताका आधारमा प्रहरी संगठनको नेतृत्व गर्न पाउनुपर्ने जिकिर गरे । इजलासमा पोखरेलले भने, ‘प्रहरीमा भर्ना भएको हरेक अधिकृत आफ्नो क्षमता योग्यताले संगठनको नेतृत्वसम्म पुग्न मेहेनत गरिरहेको हुन्छ । म पनि व्यवसायिक क्षमताको आधारमा प्रहरी संगठनको नेतृत्वमा पुग्दै थिएँ । मैले फुली लगाएको व्यक्तिलाई सिनियर मान्नु मेरा लागि मरेतुल्य हुनेछ श्रीमान् ।’

यस्तै बुधबार इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पोखरेलले सरकारले गरेको आईजीपी नियुक्तिको निर्णय आफ्नो मृत्युभन्दा पनि दुःखद भएको बताएका हुन् । उनले इजलासमा भने, ‘आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो श्रीमान । म डेढ वर्ष सिनियर एआईजी हुँ । सिनियरलाई छुटाएर अरुलाई नियुक्ति गर्नु भनेकोचाहिँ मृत्युभन्दा दुःखद हो । जो प्रहरी संगठनमा आउँछ ऊ आईजीपी वा प्रमुख हुन्छु भनेर आउछ । संगठन प्रमुख हुन्छु भनेर आउने आकांक्षा जतिबेला पनि निमोठिनसक्छ भन्ने उदाहरण पनि हो यो श्रीमान ।’

उनले आफूले नै एआईजी हुँदा धीरजप्रताम सिंहलाई फुली लगाइदिएको र अहिले जुनियरलाई आईजीपी मान्न नसक्ने उनको जिकिर थियो । उनले सरकारको निर्णय उल्ट्याउँदै आफूलाई आईजीपी नियुक्त गरिनुपर्ने माग गरे ।
पोखरेल इजलासमा बोलेसँगै बहस सकिएको छ भने आजै आदेश आउनेछ ।

गत आइतबार सरकारले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि त्यसविरुद्ध पोखरेल अदालत गएका हुन् ।

प्रतिक्रिया