कास्टिङ देखाएका छौं, अब पूरै फिल्म देखाउँछौं : रेणु दाहाल
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेद्वार रहेकी माओवादी नेतृ रेणु दाहालले बितेको ५ वर्षमा भरतपुरमा शिर झुकाउन नपर्ने गरी काम गरेको दाबी गरेकी छिन् । बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभामा गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेणु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दाबी गरेकी हुन् ।
दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दाबी गरिन् । उनले महानगरमा थुप्रै विकासका कामहरु सुरु गरेको भन्दै ति कामहरु कास्टिङ मात्रै भएको बताइन् । उनले भनिन् ‘हामीले कास्टिङ देखाएका छौं । अब पुरै फिल्म देखाउँछौं ।’
उनले आफू पुन महानगरको प्रमुखमा विजयी भए राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुरा गर्ने भन्दै विगतमा गरेका प्रतिबद्धता पत्रभन्दा माथि उठेर सबैसँग सहकार्य गरेर सम्मृद्ध महानगरतर्फ अघि बढाएको बताइन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले ५ वर्षमा सुरूआत गरिएका गौरवका आयोजनाहरूलाई सम्पन्न गर्नका लागि आफू पुनः चुनावी मैदानमा आएको बताइन् ।
विगतमा प्रतिबद्धता गरेको भन्दा धेरै काम भरतपुरमा गरेको भन्दै रेनुले भरतपुरलाई देशकै समृद्ध र व्यवस्थित सहर बनाउन गठबन्धनले जित्नुपर्ने बताइन् । उनले भनिन्, ‘शिर झुकाउन पर्दै, विपक्षीको आँखामा आँखा जुधाएर भन्न सक्छौं, ५ वर्षमा भरतपुर महानगरपालिकामा हामीले राम्रो काम गरेका छौं । भरतपुरको विकास कास्टिङमात्रै हो, अबको ५ वर्षमा गौरवका आयोजना पूरा गरेर पूरा फिल्म देखाँउछौं ।’
आफ्नो मन्तव्यका दौरान आफ्नो कार्यकाल कामहरूको फेहरिस्त सुनाएकी दाहालले पहिलो कार्यकालमा भएका कमजोरी सच्याउन आफू प्रतिबद्ध रहेको बताइन् । १२ बुँदे सम्झौता , शान्ति प्रक्रिया र संविधानका पक्षधर शक्तिबीच जारी गठबन्धनलाई निरन्तर राख्नुपर्ने र एमालेको प्रतिगामी राजनीतिलाई परास्त गर्नुपर्ने दाहालको भनाइ थियो । उनले भनिन्, ‘आन्दोलनको मैदानबाट प्रतिगमनलाई परास्त गर्यौं । अब चुनावी मैदानबाट पनि प्रतिगमनलाई परास्त गरौं, हाम्रो जित सुनिश्चित छ ।’
प्रतिक्रिया