आइतबार, वैशाख २३, २०८१

अध्यक्ष सिलवालले भने– एक वर्षभित्र न्यूनतम चुक्ता पुँजी बढाउनैपर्छ

नेपालखोज २०७९ वैशाख २२ गते १५:२६

काठमाडौं । बिमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बिमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको बताएका छन् । उनले कम्पनीहरूले एक वर्षभित्र पुँजी बढाउनैपर्ने पनि बताए ।

समितिको आयोजनामा जीवन बिमा कम्पनीहरूसँग बुधबार काठमाडौंमा ‘बिमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तर्क्रिया’ सिलवालले लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तिमार्फत पुँजी बढाउनुपर्नेतर्फ ध्यान दिनुपर्ने बताए । ‘बिमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पुँजी बढाउनुपर्यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुपर्यो । पुँजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ,’ उनले भने ।

पुँजी वृद्धिका लागि हकपद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह पनि गरे । उनले भने, ‘बिमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्यो । सूचना प्रविधिमैत्री हुनुपर्यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुपर्यो । दाबी भुक्तानी समयमै हुनुपर्यो । लगानीको प्रतिफल पनि बढ्नुपर्यो ।’

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्तिलगायत विभिन्न विकल्प हुनसक्ने बताए । कार्यक्रममा बिमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पंगेनी बिमकको पुँजी वृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुंगेल (अधिकारी) तथा दिनेशकुमार लाल र जीवन बिमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।

प्रतिक्रिया