मंगलबार, असोज १, २०८१

कांग्रेसको दुश्मन प्रचण्ड होइनन् केपी ओली हुन् : रामचन्द्र पाैडेल

नेपालखोज २०७९ वैशाख २२ गते १६:१५

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभामा पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी सहकार्य गर्नुपर्ने बताए ।

पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धा नेकपा माओवादी र प्रचण्डसँग नभइ एमालेको केपी ओली प्रवृत्तिसँग भएको बताए । कांग्रेसको प्रतिस्पर्धा र द्वन्द्व ओली प्रवृत्तिसँग भएको भन्दै गठबन्धन बनेको बताए । उनले शेरबहादुरभन्दा पहिला आफुले गठबन्धन बन्नुपर्छ भनेर भनेको बताए । उनले भने, ‘नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, प्रतिस्पर्धा एमालेको केपी अ‍ोली प्रवृत्तिसँग हो । उनैसँग द्वन्द्व हो ।’

उनले गठबन्धनबारे चितवनमा कांग्रेसका केही नेताहरुले असन्तुष्टि जनाएकोबारे आफुले असन्तुष्ट नेताहरुसँग कुरा गर्न चाहेपनि उनीहरुले धैर्य गरेर आफ्नो कुरा सुन्न नचाहेको बताए । उनले भने, ‘आज बिहानमात्रै मैले कृष्णलालजी, जगन्नाथजीहरुसँग संवाद गर्न चाहे, राम्रोसँग कुरा गरौं भने, तर उहाँहरुले धैर्य राख्न सक्नुभएन । चाडै उठेर जान खोज्नुभयो । उहाँहरु असिल इमोसन, भावआवेग र उत्तेजनामा आएर असन्तुष्टि व्यक्त गरे जस्तो लाग्यो ।’

नेता पौडेलले केपी ओलीले मुलुकमा संसदको हत्या गर्दा आफूलाई महेन्द्रकालीन घट्ना सम्झना आएको भन्दै गठबन्धन नभएको भए कृष्णचन्द्र नेपाली, बलराम पौडेलहरु मुख्यमन्त्री र मन्त्री हुन पाउँथे भन्दै चितवनका कांग्रेस कार्यकर्ताहरूलाई प्रश्न गरे । निर्वाचनपछि गठबन्धन सरकार नै चलाउनुपर्ने बाध्यता रहेको भन्दै पौडेलले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको बताए । उनले भने, ‘भोलि मिलेरै सरकार बनाउनु छ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको बलमा संविधान र लोकतन्त्रमाथि धावा बोलेकोले गठबन्धन निर्माण भएको पौडेलले बताए । चितवनमा स्वतन्त्र उम्मेदवारी दिने कांग्रेस नेताहरुले तर्कले भन्दा भावावेशले निर्णय गरेको पौडेलको भनाइ छ ।

प्रतिक्रिया