गठबन्धन टुटाउने षड्यन्त्र हुँदै छ, रेणुलाई जिताएर जवाफ दिऔं : देउवा

नेपालखोज २०७९ वैशाख २२ गते १७:३२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिका मेयरकी उम्मेद्‍वार रेणु दाहालका लागि भोट मागेका छन् । बिहीबार भरतपुरमा भएको ५ दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले आफ्नै साथीहरुको सहयोगमा रेणुलाई मेयर छाडेको बताएका हुन् ।

कांग्रेसका सभापति देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताए । गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने उनले बताए बताए । भरतपुर महानगरको मेयरका रूपमा रेणुले गरेका कामहरू प्रशंसनीय रहेको भन्दै देउवाले रेणुले हारे चितवनका जनता रिसाउने बताए । उनले भने, ‘रेणुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नु हुँदैन । गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ ।’

उनले रेणु एक्लै जित्न सक्ने उम्मेदवारसमेत भएको दाबी गरे । भरतपुरको विकासका लागि रेनुले अघि सारेका योजना हेर्दा जनतामा पपुलर देखिएको देउवाको दाबी छ । उनले अहिले गठबन्धन आवश्यक रहेकोले यसलाई बचाउन आग्रह गरे । उनले भने, ‘यो गठबन्धनका पार्टीहरूले नै मलाईं प्रधानमन्त्री बनाएका हुन् । गठबन्धनप्रति मेचीदेखि महाकालीसम्म नेपाली कांग्रेसका जनताको भरोसा भएर नै ८२ प्रतिशत भोटले पार्टी सभापति भएको हुँ । ८२ प्रतिशत जनताको प्रतिनिधिले भोटले मलाई जिताएकोले गठबन्धन प्रति जनताको विश्वास रहेको पुष्टि हुन्छ ।’

उनले रेणुलाई कुनै पनि अवस्थाबाट सहयोग गर्न आग्रह गरे । उनी कुनै पनि बेरुजु नभएको सबै फर्स्योट गरेको मेयर रहेको बताए । उनले भने, ‘भरतपुरको टोल टोलमा सडक पिच गरेकोले काठमाडौँको भन्दा बढी जग्गाको भाउ बढेको छ । यो सानो कुरा हो ? उहाँ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने लागिरहनु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन लाग्नुभएको छ । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्नेछ । उहाँले गरिरहेको काम यहाँका साथीहरूका लागि हो । यस्तो काम गरेको मान्छे यहाँका लागि नभए अरू को उम्मेदवार हुन सक्छ ?’

उनले एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नभएकोले गठबन्धन नभई अगाडि बढ्न सक्ने अवस्था नभएको बताए । देउवाले भने, ‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए जनताले के भन्लान् । यस्तो राम्रो काम गर्नेलाई धन्यवाद दिएर अघि बढाउनुपर्छ । उहाँले जितिसक्नुभएको छ । साथीहरूलाई कुनै बखेडा नगर्नका लागि आग्रह गर्दछु ।’

प्रतिक्रिया