रैतीलाई नागरिक बनाउने परिवारको सदस्य हुँ, विश्वास गर्नुस् : सिंह
काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंको व्यवस्थितरुपमा विकास गर्ने बताएकी छन् । आज काठमाडौंमा गोरखा–काठमाडौं चुनाव प्रचार समुहले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै सिंहले अस्तव्यस्त काठमाडौंको विकासलाई व्यवस्थितरुपमा विकास गर्ने बताएकी हुन् ।
उनले काठमाडौं महानगरका जनताले खोजेको जस्तो नभएकाले आफू मेयर जितेर आए जनताले खोजेको जस्तै काठमाडौं महानगर बनाउने बताइन् । सिंहले काठमाडौं महानगरको प्रशासनिक सेवा सुस्त रहेकाले अब महानगरबासीले घरमा नै बसेर अनलाइन मार्फत सेवा लिन सक्ने वातावरण बनाउने बताइन् ।
उनले महानगरमा खानेपानीको समस्या रहेकाले सार्वजनिक स्थानहरुमा शुद्ध र निःशुल्क खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता जनाइन् । काठमाडौं महानगरबासीका लागि घर–घरमा स्वास्थ्य उपचार तथा महानगरबासीको लागि छुट्टै सुविधा सम्पन्न अस्पताल बनाएर विपन्न, असहाय र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने योजना रहेको उनले सुनाइन् ।
उनले आफूलाई विरासतको राजनीतिबाट आएको आरोप लागे पनि रैतीलाई नागरिक बनाउने परिवारको सदस्य रहेको बताइन् । काठमाडौं महानगरको मेयरको उमेद्वार भए पनि आफू कर्ता मात्रै भएको भन्दै उनले महानगरको विकासमा सबैसंग समन्वय गरेर मात्रै काम गर्ने बताइन् ।
प्रतिक्रिया