इथियोपियामा मानवीय सहायता पर्याप्त छैन : राष्ट्रसंघ

नेपालखोज २०७९ वैशाख २३ गते १४:४४

काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाली क्षेत्र टिगरेमा आवश्यक खाद्यान्नसमेत नरहेको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

पछिल्लो केही समयमा सो क्षेत्रमा सहयाता पुगेको भए पनि त्यो पर्याप्त नरहेको र नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघीय सो निकायले जनाएको छ । टिगरेमा लामो समयदेखि द्वन्द्व जारी रहेको छ । यही द्वन्द्वका कारण यहाँका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बुधबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो । सो एजेन्सीले सो क्षेत्रमा पछिल्लो समयमा १६९ ट्रकमा ४ हजार ३०० मेट्रिक टन खाद्यान्न ल्याइएको भन्दै सो खाद्यान्न अपुग भएको बताएको हो ।

अहिले पनि सो क्षेत्रमा मात्र १० लाख भन्दा बढी नागरिकले सहयताको खाँचो रहेको बताएका छन् । उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै खाँचो रहेको छ । तर पनि दिनमा बढीमा आठ हजार जनालाई मात्र सहयोग दिन सकिएको सो निकायले जनाएको छ ।

टिगरेमा यहाँका द्वन्द्वग्रस्त समूहहरुले संयुक्त राष्ट्रसंघीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेका बताइएको छ । टिगरेबाट मात्र २ लाखभन्दा बढी नागरिक विद्रोहीहरुको हमलाका कारण विस्थापित हुन पुगेका छन् । यहाँ संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता एजेन्सीहरुले त्यहाँ पुगेर सहायता उपलब्ध गराउन थाले पनि अहिले त्यो पर्याप्त नभएको बताइएको छ ।

प्रतिक्रिया