आलमलाई थुनामुक्त गर्न सर्वोच्चले गर्यो अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहमद अफ्ताब आलमलाई थुनामानै राख्ने उच्च र जिल्ला अदालतको फैसलालाई सदर गरेको छ ।
न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले करिब डेढ वर्षपछि सुनुवाइ भएको आलमको मुद्दामा अन्तिम फैसला नभएसम्म थुनामानै राख्ने आदेश गरेको हो । ईँटा भट्टामा हालेर २० भन्दा बढी मजदुरलाई जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।
आलमले २०७७ असोज १२ गते जिल्ला र उच्च अदालतको आदेश बदर गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए । जिल्ला र उच्च अदालत हुँदै सर्वोच्च पुगेको आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।
पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने माग गरिएको छ ।
प्रतिक्रिया