कामपा मेयरका उम्मेदवार कर्माचार्यले घोषणा गरे ३२ बुंदे समाधान पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट प्रेमसागर कर्माचार्यले उम्मदवारी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रक्तदाता समाजका केन्द्रिय अध्यक्षसमेत रहेका कर्माचार्यले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मेयरमा उम्मेदवारी दिएको जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कर्माचार्यले आफ्नो पार्टीले राईट टु रिजेक्ट र राईट टु रिकलको अवधारणा आत्मसाथ गरेको बताए । उनले अन्य राजनीतिक पार्टीले घोषणापत्र जारी गरेपनि इमानदारको साथ आफुले समाधान पत्र जारी गरेको स्पष्ट पारे । उनले समाधान पत्रमा भएको ३२ बुंदा अनुसार काम नगरे आफुलाई जुनसुकै समयमा कारबाही गर्न नगरवासीसँग आग्रह गरे ।

उनले आफ्नो प्रतिस्पर्धा कुनै दलका नेतासँग नभई महानगरवासीसँग भएको सुनाए । नगरवासीको हातमा नेतृत्व छान्ने अधिकार रहेको उनको भनाई थियो । १६९ पटक रक्तदान गरेका कर्माचार्यले हाल लिइरहेको बहाल करमा ५० प्रतिशतसम्म छुट गर्ने, उपत्यकाभित्र सम्पुर्ण सार्वजनिक स्थलमका निःशुल्क वाईफाईको व्यवस्था मिलाउने प्रतिवद्धता जाहेर गरे ।
कर्माचार्यले आगलागि नियन्त्रणको लागिभित्री शहरमा पाईप लाइन विस्तार गर्ने, फ्रि एम्बुलेन्स सेवाको व्यवस्था गर्ने, छुट्टै महानगरीय सार्वजनिक सवारीको व्यवस्था, ट्राफिक जामको यथोचित व्यवस्थापन गर्ने प्रतिवद्धता समेत समाधान पत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै, समाजसेवामा अग्रसर कर्माचार्यले काठमाडौंको फोहोर व्यवस्थापन तीन तरिकाले गर्ने भएका छन् । उनले समाधान पत्रमा काठमाडौंको फोहोर व्यवस्थापनमा पहिलो फोहोरको वर्गिकरण गर्ने, दोस्रो ल्याण्डफिल्डलाई न्युनिकरण गर्दै जाने र तेस्रो पुनप्र्रयोजनलाई व्यवस्थापन गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया