शनिबार, वैशाख २९, २०८१

आमा हुन सजिलो छैन

उषा शेरचन २०७९ वैशाख २४ गते ७:१७

आमा हुनु भनेको त
आफ्नो जिन्दगीलाई नै
हत्केलामा राखेर
प्रशवका अनन्त पीडा खपेर
आफ्नो प्राणभन्दा पनि प्यारो
आफ्नो ज्यानभन्दा पनि प्यारो
सन्तानलाई जन्म दिनु रहेछ
न भोक न निद्रा
बस मात्रै सन्तानको
चिन्तामा दिनरात बिताउनु रहेछ

आमा हुनु भनेको त
चर्को घाम लागे
सन्तानलाई पोल्ला कि भन्ने पीर
अत्यन्तै जाडो बढे
चिसोले कठ्याङग्रियलाकी भन्ने पीर
मीठो चोखो खादा पनि पीर
भोकभोकै हुँदा त झन् पराकाष्ठै पीर
पीरै पीरको भारी बोक्नु पो रहेछ

आमा हुनु भनेको त
सन्तानको मनोभावना
नभनेरै पनि बुझ्नु
अनि उनीहरूले
चाहेको सबैथोक
आफूसँग भए पनि नभए पनि
सकेसम्म पुर्‍याउन सक्ने
जादूको तिलस्मी छडी हुनु पो रहेछ

आमा हुनु भनेको त
डाक्टर
इन्जिनियर
शिक्षक
प्रशासनिक
अर्थात्
आवश्यकता बमोजिम
अन्य सबैसबै
भूमिका निभाउनु पो रहेछ

आमा हुनु भनेको त
सन्तानले जतिसुकै घुर्क्याए पनि
जतिसुकै रिसाएर ठुस्किए पनि
जतिसुकै गल्ती गरे पनि
माफ दिनु अनि कहिल्यै मनमा नलिइ
बिनासर्त माया गरिरहनु
सधैंभरि भलो चिताइरहनु
र, आशीर्वाद दिइरहनु पो रहेछ

आमा हुनु भनेको
सन्तानको खुसीका लागि
जतिसुकै पीर र तापमा भए पनि
जतिसुकै समस्यासँग जुध्नु परे तापनि
सबैसबै कुरालाई पोको पार्दै
आफ्नैँ छातीभित्र लुकाएर
जतिखेर पनि मुस्कुराइ रहनु
अनि घर्तीझैँ सहनु रहेछ पो रहेछ

आमा हुनु भनेको त
सबेरै घाम सँगसँगै उदाउनु र
घामसँगै अस्ताउनु
अनि फेरि
जून सँगसँगै उदाउनु र
जूनसँगसँगै अस्ताउनु रहेछ
बिहानैदेखि बेलुकी सम्म
र, फेरि बेलुकी देखि
बिहान सम्म
सन्तानकै सोचमा व्यस्त रहनुपर्ने
र, सन्तानकै खोजमा त्रस्त रहनुपर्ने पो रहेछ

आमा हुनु भनेको त
आफ्नो सन्तानले
संसारभरकै खुसी पाउन्
हरेक प्रतिस्पर्धामा अब्बल रहुन्
सन्तानको खुसीमा
उनीहरूभन्दा बढी खुसी हुनु
सन्तानको पीडामा
उनीहरूभन्दा दुखी हुनु
अनि संसारलाई जित्न चाहे पनि
आफ्नो सन्तानसँग भने
सधैंभरि हार्न चाहनु पो रहेछ

आमा हुनु भनेको त
कहिल्यै अवकाश नपाउने
जागिर खानु पो रहेछ
छातीमा कोखीका
अनगिन्ती घाउहरू बोकेर
जतिखेर पनि
दुखाइरहनु पो रहेछ

आमा हुनु साँच्चिकै गार्‍हो काम रहेछ !
आमा हुनु साँच्चिकै सार्‍हो काम रहेछ !!

प्रतिक्रिया