शनिबार, वैशाख ८, २०८१

प्रेमको सिम्फोनी धुन

विमल वैद्य २०७८ असोज ९ गते ९:०८

अब फेरि हिँड्न सिक्नु छ
हिजो हिँडेका बाटाहरू
हिजो चाहारेका
गल्ली र गोरेटाहरू ।

हिँड्न सिक्दा लडेछु भने
उठौला,
अनि फेरि हिँडौला
हिँड्नु नै छ
उही बाटाहरू
उही सडकहरू ।

मैले हिँड्न छोड्दा
हिँड्दा रहेनछन् बाटाहरू
घरहरू,
बगैंचाहरू,
थकाइ मार्दा रहेछन्
घाम,
जून,
र आकाशले पनि,
म हिँड्दा सँगै हिँड्दो रहेछ
आकाशको बादल
सडक छेउका घरहरू पनि,
रोकिँदा रहेछन्
अस्पताल,
सिनेमाघर,
डिपार्टमेन्टल स्टोर,
र भट्टी पसल
सबै / सबै म सँगै रोकिँदारहेछन्।

हिजो जहाँ थिए बाटाहरू
आज पनि त्यही छन्
गल्लीहरू ,
जहाँ म ओहोर/ दोहोर गर्थे
उहीँ छन्
भीर र कान्लाहरू पनि
स्थिर छन्
मान्छेहरूको गति पनि
रोकिँदो रहेछ
म रोकिएका बेला
अडिँदो रहेछ
हावाको वेग पनि।

देख्दैछु,
शहर पनि त्यहीँ छ
गाउँ पनि त्यहीँ छ
म रोकिँदा
सवै रोकिँदा रहेछन्
म जड बनेर बस्दा
सबै/ सबै जडवत बनेर उभिँदा रहेछन्
जुन दिन देखि म हिँड्न छोडे
तिमी पनि त्यहीँ रोकिएकी रहिछौ
पर्ख,
म फेरि आउने छु हिँडेरै
अनि पुगौला सँगै
प्रेमको सिम्फोनी धुन सुन्न ।।

प्रतिक्रिया