ओलीले अधिनायकवादी व्यवस्था लाद्न खोज्दा गठबन्धन गर्नुपर्‍यो : देउवा

नेपालखोज २०७९ वैशाख २४ गते १९:३०

जनकपुर । प्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजे पछि आफूहरुबीच गठबन्धन गर्नु परेको बताएका छन् । सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहोर्‍याए ।

आज जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा बोल्दै उनले नेपाली कांग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि कांग्रेसले प्रश्न उठाउन नसक्ने बताए । देउवाले तराई मधेसमा नागरिकताको समस्या रहेको बताउँदै यसलाई छिटो समाधान गर्ने आश्वासनसमेत दिए ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मधेशमा विद्यमान नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए । उनले विगतमा एमालेको कारण सो समस्या समाधान हुन नसकेको आरोप समेत लगाए ।

अध्यक्ष दाहालले अब सदन खुल्ने वित्तिकै नागरिकता समस्या समाधान हुने बताएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए ।

प्रतिक्रिया