‘जंगल मासेर निजगढमा विमानस्थल नबनाउन इपानको चेतावनी’

काठमाडौं । नेपाल पर्यावरण संरक्षण तथा सम्वर्द्धन संघले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने आफ्नो अडान अघि सारेको छ । पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश गर्न नहुने पनि संघको धारणा छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो धारणा अघि सारेको हो । संघको तर्फबाट अध्यक्ष सुदर्शन प्रधानले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हवाई मैदानजस्तो दुरगामी महत्व राख्ने स्थलको छनौट गर्नेमाथि निजगढको जंगल, खोटपूर्ण र शंकास्पद रह्यो किनकी चितवनको शुक्रनगर–नयाँगाउँ सेरोफेरोको हजारौं हेक्टरमा एउटा सालको रुख पनि छैन तर निजगढमा ७००३ हेक्टर वनक्षेत्रमा सालका रुखवृक्ष, लाथ्रा, पोल, बल्लाबल्ली जम्मा ८ करोड ६८ लाख १५ हजार ३३५ वटा छन् । जसको बजार मूल्य ६०० अर्ब (६ खर्ब) भन्दा माथि हुन्छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा के अन्तर छ ? जहाँ बाघ, गैंडा, जंगली हात्ती, चितुवा, हरिण, मृगलगायत ३७ स्तनधारी प्रजाति, ४९० पंक्षीहरु, सरिसृप र भ्यागुता १५ जाति, उभयचर ३ प्रजाति र माछा १८ प्रजातिका लगायत अरु सयौं प्रकारका प्रकृतिका सन्तानहरु छन् ।’

उनले निजगढको ८ हजार हेक्टर जंगल फाँडेर विमानस्थल बनाउँदा त्यहाँको जमुनी, अडुवा, तिथरी, काँटघाट नदीहरु,थलनी, बडकी पैनी र जोकाहा खोलाहरुको मुहान भएकोले पानीका स्रोतहरु पूर्णरुपले सुक्ने बताए । प्रधानले काठ तस्करहरुका चंगुलमा परेर राज्यको नेतृत्व गर्नेहरुहरुले मनोमानी गरेर विमान कुनै गम्भीर अध्ययन–अनुशन्धान निजगढको जंगल फाँड्न निर्णय गर्ने, आदेश दिनेजस्तो आत्मघाती कदम चालिरहेको आरोप लगाए ।

उनले राज्यले आफूहरुले अघि सारेका मागप्रति गम्भीरता नदेखाए र जबरजस्ती रुपमा जंगल मासेर विमानस्थल बनाउन खोजे त्यसको विरुद्धमा सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए । कार्यक्रममा पूर्व प्रमुख संरक्षण अधिकृत तथा पर्यावरणविद् बाबुराम यादवले निजगढ विमानस्थलको विकल्प रहेको सुनाए ।
निजगढमा विमानस्थल बनाउने नाममा अहिले पनि झण्डै ७ हजार हेक्टर जमिनमा चारै दिशाको (४२ किलोमिटर) मा तारबार लगाएको र घेरिएको ठाउँमा पनि (झण्डै ५ किलोमिटर) मा तारबार लगाएर वन्यजन्तुमाथि अमानवीय व्यवहार गरिएको यादवले वस्तुस्थिति सुनाए ।

यादवले लण्डनको हिथ्रो हवाई मैदान १२२७ हेक्टरमा बनेको, सिंगापुरको चाङी हवाई मैदान १ हजार ३ सय हेक्टरमा र दुवईको अन्तर्राष्ट्रिय हवाई मैदान १ हजार २५० हेक्टरमा बनेको उल्लेख गर्दै भने–‘यी विमानस्थलहरुले क्रमशः यात्रुहरु ८ करोड, ६.५६ करोड र ८.९१ करोडलाई सेवा पुर्याईरहेछन् । जबकी काठमाडौंको त्रिभुवन विमानस्थलले वार्षिक ७१ लख हवाई यात्रुहरुलाई सेवा दिईरहेछ । प्रस्तावित निजगढको हवाई मैदानले जम्मा ७२ लाखलाई सेवा दिने लक्ष्य बनाईएको छ ।’

त्यस्तै, ३७ वर्षसम्म विमान चलाएका क्याप्टेन युवराज भट्टराईले विमानस्थल बनाउनु भनेको संवेदनशील विषय भएको उल्लेख गर्दै विमानस्थल बनाउनुपुर्व सबै कोणबाट हेर्नुपर्ने र विशेषगरि पर्यावरणीय अवस्थाको लेखाजोखा गर्नुपर्नेमा जोड दिए । उनले निजगढमा विमानस्थल बनाउने नाममा जंगल सखाप पार्ने काम गर्न नहुने पनि तर्क गरे । उनले निजगढमा विमानस्थल बनाउनुभन्दा पनि यसको विकल्प खोज्न सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया