रुस-युक्रेन युद्ध : घेराबन्दीमा रहेको स्टिल उद्योगबाट बाहिरिए सर्वसाधारण

काठमाडाैं । रुस र युक्रेनले घेराबन्दीमा रहेको मारिऊपोल सहरस्थित एजोभस्टाल स्टिल उद्योगबाट महिला, बालबालिका र वृद्धवृद्धा सबैलाई अन्यत्र लैजाँदै गरिएको घोषणा गरेका छन् ।
संयुक्त राष्ट्रसंघ र रेडक्रसको समन्वयमा उक्त कार्य एक साताअघि सुरु भएको थियो । तर यी निकायहरूले भने यो पछिल्लो उद्धार गरिँदै गरेकोबारे पुष्टि गरेका छैनन् ।
रुसको नियन्त्रणमा नरहेको सहरको अन्तिम भागमा पर्ने स्टिल उद्योगमा भारी बमबारी भइरहेको छ र युक्रेनी फौजहरू कठिन परिस्थिति हुँदाहुँदै पनि लडिरहेका छन् ।
रुसले हप्तौँदेखि घेराबन्दीमा राखेको उक्त उद्योगमा एजोभ बटालियनबाट प्रतिरक्षकहरूले आत्मसमर्पण गरुन् भन्ने रुसले माग गर्दै आएको छ ।
उद्धार गरेर अन्यत्र लगिन लागेकाहरू अहिले कहाँ छन् भन्ने स्पष्ट छैन । तर युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले मानवीय कारबाहीको यो हिस्सा अहिलेलाई सकिएको बताएकी छन् ।
विगतमा युक्रेनको नियन्त्रणमा रहेको भूभागमा उद्धार गरिएकालाई पुर्याउन थुप्रै दिन लागेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ३०० भन्दा बढी सर्वसाधारणलाई स्टिल उद्योगबाट उद्धार गरिएको बताएका छन्। जबकी रुसी रक्षा मन्त्रालयले भने तीन दिनको अवधिमा ५१ जनाको मात्रै उद्धार गरिएको जनाएको छ ।
जेलेन्स्कीले मारिऊपोलमा रहेका सेनालाई बाहिर ल्याउनका लागि कूटनीतिक प्रयासहरू जारी रहेको बताएका छन् । बीबीसी
प्रतिक्रिया