आइतबार, वैशाख २८, २०८२

रुसमाथि अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेकै बेला बाइडेन र जेलेन्स्कीका श्रीमतीबीच भेट

नेपालखोज २०७९ वैशाख २६ गते ७:५५

काठमाडाैं । वासिङ्टनले मस्कोमाथि थप प्रतिबन्धको घोषणा गरेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जील बाइडेनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् ।

यो उनीहरूबीच भएको पहिलो भेटघाट हो र त्यो युक्रेनको सीमावर्ती सहर उज्होरेडको एक विद्यालयमा भएको थियो । गत फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएयता जेलेन्स्का सार्वजनिक रूपमा देखा परेको यो पहिलोपटक हो।

युक्रेनमाथि रुसी आक्रमणको पछिल्लो प्रतिक्रियाका रूपमा अमेरिकाले रुस र बेलारुसका २६ सय नागरिकमाथि भिसा प्रतिबन्धसहित नयाँ रोकहरू लगाएको छ ।

अमेरिकाले तीनवटा रुसी टेलिभिजन स्टेसनमाथि पनि प्रतिबन्ध लगाएको छ । उसले रुसी वित्तिय संस्था ग्याजप्रमब्याङ्कका अधिकारीहरुमाथि पनि रोक लगाएको छ ।

यसैबीच औद्योगिक राष्ट्रहरूको समूह जी-सेभेनका नेताहरूले रुसी तेललाई चरणबद्ध रूपमा प्रतिबन्ध लगाउन आफूहरू प्रतिबद्ध भएको बताएका छन् ।

अमेरिकी र युक्रेनी राष्ट्रपतिका पत्नीबीच हाल विस्थापितहरूका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेको विद्यालयमा भेट भएको हो ।

त्यहाँ बाइडनपत्नीले आफूले ‘संयुक्त राज्य अमेरिकाका जनता युक्रेनका जनतासँग उभिएको देखाउन चाहेको’ बताइन् ।

उनले हाल तेस्रो महिनामा चलिरहेको युद्ध ‘क्रूर’ रहेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिइन् । जेलेन्स्काले युक्रेन युद्धमा रहेको बेला भ्रमण गर्नु एउटा ‘साहसी कार्य’ भएको बताइन् ।

उनले युक्रेन र अमेरिकामा मनाइने ‘मदर्स डे’ का दिन भएको भ्रमण निकै प्रतीकात्मक रहेको समेत बताएकी छन् । उनले भनिन्, ‘यस्तो महत्त्वपूर्ण दिनमा हामी तपाईँको माया र समर्थनलाई महसुस गर्छौं ।’ दुवै महिलाहरू उक्त विद्यालयमा बसेर हाल त्यहाँ राखिएका दर्जनौँ बालबालिकामध्ये केहीसँग खेलेका थिए । बीबीसी

प्रतिक्रिया