बुधबार, वैशाख २४, २०८२

‘थापा र लिङ्देनसँग मिलेर ओलीले दक्षिणपन्थी बाटो समाते’

नेपालखोज २०७९ वैशाख २६ गते १३:२६

काठमाडौं । नेपाली कांग्रेस र एमाले आपसी आरोप प्रत्यारोपमा उत्रिएका छन् । एउटा पार्टीले गम्भीर आरोप लगाउनेबित्तिकै अर्को पार्टीले पनि आरोप लगाउने गरेको छ ।

यसैबीच, कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको प्रतिवाद गरेको छ । ओलीले आइतबार पत्रकार सम्मेलन गरेर कांग्रेसका गल्ती बुँदागतरुपमा औंल्याएका थिए । कांग्रेसले पनि तत्कालै सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर ओलीका आरोपको प्रतिवाद गरेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ओली संविधानविरोधी कमल थापा र राजेन्द्र लिङ्देनसँग मिलेका दक्षिणपन्थी नेता भएको आरोप लगाएका । उनले ओलीले आफ्ना कमजोरी ढाकछोप गर्न कांग्रेसमाथि अनावश्यक आरोप लगाएको दाबी गरेका छन् । महतले भने, ‘ओलीको पालामा काण्डै काण्डमात्र भएका छन् । ’

ओलीका काण्ड सुनाएर साध्य छैनन् भन्दै महतले नेकपामा तत्कालीन नेताहरुले नै उनका काण्डहरु लिखितरुपमा दर्ता गरेको जनाए । ओलीले आफ्नो शासनकालमा गफमात्रै गरेको भन्दै नेता महतले काम कांग्रेसले गरेको दाबी गरेका छन् । कोभिड र भूकम्पमा जनतालाई जोगाउने पार्टी कांग्रेस भएको उनको दाबी छ ।

ओली सरकारमा भइरहेको भए नेपालको अवस्था अहिले श्रीलंका भइसक्ने थियो भन्ने नेता महतको आरोप छ । एमालेले मुलुकलाई ऋणमात्र बोकाएको आरोप लगाउँदै उनले कांग्रेस सरकारमा आउँनासाथ मुलुक अनुदानमय भएको टिप्पणी गरे ।
महतले संविधान निर्माणमा ओलीको कुनै भूमिका नरहेको जनाए । ओली संविधान र अग्रगमनको विरोधमा रहेको आरोप लगाउँदै महतले कमल थापा र राजेन्द्र लिङ्देनहरुसँग मिलेर ओलीले दक्षिणपन्थी बाटो लिएको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया