१२ अंकले नेप्से बढ्दा एक अर्ब ३९ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन बढेको नेप्सेले आज (सोमबार) पनि निरन्तरता पाएको छ । नेप्से आज १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १२ अंकले बढेर चार सय ३९ दशमलव ४७ अंकमा पुगेको छ । दुई सय २२ कम्पनीको २८ हजार ६ सय ७५ पटकको कारोबारमा ३३ लाख २४ हजार आठ सय २२ कित्ता सेयर खरिद-बिक्री भएका छन् । सोही खरिद-बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ३९ करोड ६ लाख सात हजार सात सय एक रुपैयाँ ९४ पैसा पुगेको छ ।
आज जाल्पा लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । आज जाल्पाको सेयर अन्तिम मूल्य प्रतिकित्ता १८ सय ३९ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो । माहुली लघुवित्त भने ७ दशमलव ७७ प्रतिशतले बढेर प्रतिकित्ता १२ सय ९० रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको थियो ।
समग्रमा बजार बढे पनि हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य झन्डै चार प्रतिशतले घटेको छ । आज हिमालय ऊर्जाको अन्तिम सेयर कारोबार २९५ रुपैयाँमा भएको छ । हिजोको तुलनामा कम्पनीको सेयर मूल्य ११ रुपैयाँ ६० पैसाले घटेको हो ।
आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रतिकित्ता एक हजार २० रुपैयाँ अन्तिम मूल्यमा सात करोड ८३ लाख ५३ हजार आठ सय ९९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया