शुक्रबार, वैशाख ७, २०८१

दैनिक मेवाको सेवन, उमेरभन्दा ७ वर्ष जवान

नेपालखोज २०७९ वैशाख २७ गते १२:०५

काठमाडौं । मेवालाई फलको राजाका रूपमा लिइन्छ । यो फल विश्वको उष्ण–कटिबंधीय क्षेत्रहरूमा पाइन्छ । विशेषतः नेपाल, भारत, बंगलादेश, पाकिस्तान अनि विश्वका गर्मी क्षेत्रमा बढी उत्पादन हुने फल हो । मेवा जीवन्त रङ, नरम बनावट र मीठो स्वादको कारण प्रसिद्ध छ । यसबाट सलाद, सर्बत, जुस र कन्फेक्सन, स्क्वास, अचारलगायत विभिन्न प्रकारका परिकार बनाइन्छ ।

मेवालाई पहिले दुर्लभ फल मानिन्थ्यो । तर पछिल्लो समयमा यसको व्यावसायिक खेती हुन थालेपछि सर्वत्र पाइने गरेको छ । यो फल उष्ण कटिबन्धीय हावापानीमा बढी उत्पादन हुने गर्छ । स्वास्थ्य लाभहरूको विस्तृत विविधताले मेवा लोकप्रिय फल मानिएको छ ।

मेवा सेवनका विभिन्न फाइदा छन् । यसका सम्भावित स्वास्थ्य लाभहरूमा हृदय रोग, मधुमेह, क्यान्सरको जोखिम कम गर्ने, पाचनमा मद्दत गर्ने, मधुमेह भएका मानिसहरूमा रगतमा ग्लुकोज नियन्त्रणमा सुधार, रक्तचाप कम गर्ने र घाउ निको पार्नेलगायत छन् ।

मेवा संसारमा पहिलोपटक मेक्सिकोमा उत्पादन भएको मानिन्छ । यद्यपि, यो क्यारिबियन र फ्लोरिडामा पनि बढी मात्रामा उत्पादन हुने गर्छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार कृषि प्रधान देश भारतले सबैभन्दा धेरै मेवा उत्पादन गर्छ ।

मेवामा सामान्यतः बीउबाट हुर्काइन्छ । यसका बिरुवाको विकास द्रुत गतिमा हुने गर्छ । अनुकूल परिस्थितिहरूमा यसको बोट कम्तिमा पाँच वर्ष वा बढी बाँच्न सक्छ । मेवा खानुका धेरै फाइदाहरू छन् । यो फल भिटामिन सी, भिटामिन ए, भिटामिन बी, भिटामिन ई र भिटामिन केको उत्कृष्ट स्रोत हो । सय ग्राम पाकेको मेवामा ३२ क्यालोरी, शून्य दशमलव ६ ग्राम प्रोटिन, शून्य दशमलव ६ ग्राम फ्याट, ७ दशमलव ५ ग्राम कार्बोहाइड्रेट र दुई दशमलब ६ ग्राम फाइबर हुन्छ ।

यो फल एन्टिअक्सिडेन्टले भरिएको हुन्छ । यसले सुजन कम गर्न, धेरै रोगहरूसँग लड्न र मानिसलाई जवान देखाउन मद्दत गर्दछ । मेवामा फाइबर, एन्टिअक्सिडेन्ट र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले मानिसको धमनीमा बढेको कोलेस्ट्रोल रोक्न मद्दत गर्छ । अत्यधिक कोलेस्ट्रोलले हृदयाघात, स्ट्रोक र उच्च रक्तचापलगायत धेरै कोरोनरी रोगहरू निम्त्याउँछ ।

यो स्कर्भीसहित धेरै रोग लाग्नै नदिन अनि नियन्त्रण गर्न लाभदायक हुन्छ । यो फलको सेवन भिटामिन सी कोलाजेन सिर्जना गर्न आवश्यक छ । जसले शरीरका तन्तुहरूलाई जोड्न मद्दत गर्दछ । भिटामिन सी प्राप्त गर्न मेवा अति आवश्यक छ । ‘भिटामिन सी’ को कमीले भने रक्तअल्पता, कमजोरी, छालाको समस्या र गिजाको रोगजस्ता धेरै लक्षण निम्त्याउँछ । विभिन्न स्वास्थ्य समस्याबाट बच्न नियमित रूपमा मेवाको एक कचौरा जुस पिउनु उपयोगी हुन्छ ।

यसले तौल घटाउन मद्दत गर्छ किनभने यसमा क्यालोरी कम हुन्छ । यसमा फाइबरको राम्रो स्रोत कम जीआई हुन्छ । मेवामा पाइने फाइबर तत्त्वले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ, जसले गर्दा खानेकुराको चासो कम भई तौल कम गर्न मद्दत पुर्याउँछ ।

मीठो खानेकुराका रूपमा लिइने यस फल मधुमेहबाट पीडित मानिसका लागि अत्यन्तै उपयोगी हुन्छ । यस फलमा जीआई कम हुन्छ र फाइबर उच्च हुन्छ, जसले गर्दा मधुमेहका बिरामीहरूमा रगतमा चिनीको मात्रा बढ्नबाट रोक्छ । गठियाबाट पीडित व्यक्तिहरू हड्डीको संरचना कमजोर हुँदै जाँदा धेरै पीडामा पर्छन् । भविष्यमा गठियाको विकासको जोखिममा रहेका मानिसलाई यस फलले फाइदा पुर्याउँछ, किनकि यसले हड्डीलाई कमजोर हुनबाट बचाउँछ ।

हरेक दिन मेवा खाँदा कलेजोलाई फास्ट फुड र स्याचुरेटेड फ्याट पचाउन मद्दत गरेर शरीरलाई स्वस्थ राख्छ । मेवामा फाइबरको साथमा पपेन नामक पाचन इन्जाइम हुन्छ । यो सेवन गर्दा हुने स्वास्थ्य लाभले आँखाको ज्योति बढाउन मद्दत गर्छ । ‘भिटामिन ए’ प्रचुर मात्रामा पाइने हुनाले आँखाको ज्योति तेज बनाउन सहयोगी हुने स्वास्थ्यविद्हरू बताउँछन् । म्याकुलर डिजेनेरेसनको कारणले उमेरसँगै आँखाको ज्योति धेरै कमजोर हुने गर्छ । मेवा खाँदा अन्धोपनलाई जोगाउन पनि मद्दत गर्छ ।

फलफूल ‘भिटामिन सी’ को उत्कृष्ट स्रोत भएकाले, शरीरमा कोलाजेन निर्माण गर्न मद्दत पुग्छ । कुल मिलाएर हरेक दिन एक कचौरा मेवाको जुस खाँदा आफ्नो वास्तविक उमेरभन्दा कम्तिमा पाँचदेखि सात वर्ष कान्छो देखिन मद्दत गर्छ ।

यस्तै यस फलको सेवनले मानिसको मानसिक अवस्था चुस्त राख्न मद्दत पुग्छ । विशेषगरी मानिसमा तनावपूर्ण अवस्था छ भने, हरेक दिन एक कचौरा यसको जुस खान केही स्वास्थ्यविद्हरू सल्लाह दिन्छन् । यसले ‘भिटामिन सी’ मार्फत तनाव हार्मोनको प्रवाहलाई नियमित गर्न मद्दत गर्दछ ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार यस फलको सेवनबाट क्यान्सर कोषिकाहरूको निर्माणलाई एन्टिअक्सिडेन्ट, फ्लेभोनोइड्स र फाइटोन्यूट्रिएन्टको दैनिक खुराकबाट रोक्न मद्दत गर्छ । मेवाको दैनिक सेवनले मानिसमा कोलोन र प्रोस्टेट क्यान्सरका घटनाहरू कम हुने विभिन्न अध्ययनले देखाएका छन् ।

मानिसहरू सधैं तौल घटाउने चमत्कारको खोजीमा हुन्छन् । मेवालगायत केही फलफूल र तरकारीले पनि प्रभावकारी रूपमा वजन घटाउन रोक्न मद्दत गर्छन् । मेवाजस्तै गुण भएका तरकारी तथा फलफूल सेवन गर्नु उत्तम हुने खाद्यविद्हरू बताउँछन् । मेवा नियमित रूपमा सेवन गर्नाले शरीरलाई भित्री रूपमा सुधार गर्न मद्दत गर्दछ, जहाँ छालामा पनि जवानीपन देखिन थाल्छ । पाचन प्रणालीमा तीव्र सुधार हुन्छ ।

प्रतिक्रिया