शनिबार, असोज ५, २०८१

नेप्सेमा दोहोरो अंकको वृद्धि, कुल कारोबार एक अर्ब ३५ करोड

नेपालखोज २०७९ वैशाख २७ गते १५:५२

काठमाडौं । साताको तेस्रो दिन आज पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव १६ अंकले बढेर दुई हजार तीन सय १३ विन्दुमा पुगेको छ ।

आज दुई सय २६ वटा कम्पनीका ३३ लाख ३० हजार कित्ता सेयर एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीको नौ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन ।

सबै समूहको सेयर बढेकोमा बिमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको सेयर उच्च अंकले बढेको छ । आज वरुण हाइड्रो,ङादी ग्रुप पावर, युनिभर्सल पावर र जालपा लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको सेयर साढे दुई प्रतिशतले घटेको छ ।

पछिल्ला तीन कारोबार दिनमा नेप्से ७४ दशमलव ३८ अंकले बढेको हो । नेप्से १ दशमलव ९५ प्रतिशतले वृद्धि भए पनि कारोबार रकममा भने उत्साह देखिएको छैन । सोमबार दिनभर एक अर्ब ३९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया