थापाको तीर र लिङ्देनको हलोले एमालेको सूर्य चिह्नलाई प्वाल पर्यो : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिह्नलाई प्वाल पारेको बताएका छन् । आज गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले घोचेर एमालेको सुर्य चिह्न प्वाल पारेको बताएका हुन् ।
सत्तारुढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको उनले बताए । कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका विचरा भनिएको उल्लेख गर्दै उनले एमालेले पनि गत निर्वाचनमा ५९ वटा क्षेत्रमा सुर्यमा भोट हाल्न नपाएको र हसिया हथौडामा भोट हालेको स्मरण गराइन् । महामन्त्री थापाले गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको हो भन्ने प्रश्न समेत गरे ।
महामन्त्री थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताए । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उनले बताए । महामन्त्री थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धतालाई पुरा नगरेर मतदाता र काठमाडौंबासिलाई हेपेको बताए ।

प्रतिक्रिया