आइतबार, जेठ ६, २०८१

वीडेनका हसलमार्कले जिते शाहसिक हिमालयन एक्सट्राई ट्रायथलोन

नेपालखोज २०७९ वैशाख २७ गते २०:३३

काठमाडौं । सहासिक खेलेको सम्भावना नेपालमा अधि नै छ । भौगोलिक बनोटमा धनी नेपालमा यसै साता पोखरामा पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोन सम्पन्न भएको छ । फेवातालबाट सुरु भएको यात्रा करिब १७ घण्टाको अविधि पछि मात्र सकिएको थियो ।

स्वीडेनका जोन हसलमार्कले निर्धारित दूरा समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरे । सम्पन्न प्रतियोगिताले नेपालमा एक्सिट्रम ट्रायथलोन सम्भव छ भन्ने सन्देश दिएको छ । ‘एक्स्ट्रिम वल्र्ड टुर ट्राइयाथल’ को साहसिक ट्रायथलोन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ नेपालमा पहिलो पटक सुरु पनि भएको छ ।

झिसमिसे उज्जालो हुँदै गर्दा केही खेलाडीले आवश्यक सामग्रीसहित फेवातालमा हाफ फालेर सुरु भएको पहिलो हिमालयन एक्सट्राई ट्रायथलोन यसै साता पर्यटकीय नगरी पोखरमा सम्पन्न भएको छ । विश्वका १७ देशका प्रतिस्पर्धीहरुले सहभागिता जनाएको प्रतियोगितामा स्वीडेनका जोन हसलमार्कले बाजी मारे । करिव एक साता पोखरा रहेर अभ्यास गरेका प्रतिस्पर्धीलाई साथ दिन ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए ।

१६ प्रतिस्पर्धीलाई उछिनेका जोन हसलमार्कले ३.८ किमि पौडी, १ सय ८० किमि साइक्लिङ र ४० किमि दौड समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन् । सो क्रममा उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १ सय ८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए । उपाधि जिते पछि स्वीडिस हसलमार्कले प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक भएको र यस्ता प्रतियोगिताबाट सहभागिताले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर मिल्ने बताए ।

त्यस्तै चेक गणतन्त्रका फिलिप सोल्क दोस्रो भए । सोल्कले १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गरे । चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो स्थान हाँसिल गरे । बिहान ४ बजे पोखराको फेवातालबाट प्रतियोगिता शुरु भएको थियो । जहाँ खेलाडीहरुले ३।८ किमीको दूरी पौडेका थिए । त्यसपछि १ सय ८० किमिको साइकल दौड सुरु भएको थियो । साइकल रेस पोखरा भुपी शेरचन राजमार्ग हुँदै बाग्लुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो ।

लुम्रेबाट ४० किमि उकाली ओरोली दौड शुरु भएको थियो। दौड पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा भएको थियो । ४ हजार मिटरको उचाईमा दौडिने भएकोले यसलाई विश्वकै कठिन दौड मानिएको हो ।

यसैगरी नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १०औं स्थानमा आए । रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाई छुन भने असफल भइन । प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले यस्ता प्रतियोगिता नेपालमा आयोजना हुनाले नेपालको पर्यटनमा टेवा मिल्ने बताए ।

विजेता र सहभागि खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गर्नुभयो । पुरस्कार वितरण पछि सदस्य सचिव तेजबहादुर गुरुङले यो प्रतियोगिताले गण्डकी प्रदेशलाई चिनाउन सहयोग र गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तव्य हो भन्ने कुरालाई स्थापित गरेको बताए ।

दुई वर्ष अघि आयोजना हुने तय भएको प्रतियोगिता कोभिछ भाइरस महामारीका कारण स्थगित हुन पुगेको थियो । सन २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्राइयाथलन’ युरोपसहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया