युक्रेन युद्ध : पुटिन लामो लडाइँको तयारीमा रहेकाे अमेरिकी गुप्तचर अधिकारीकाे चेतावनी

काठमाडाैं । अमेरिकी गुप्तचर अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको चेतावनी दिएका छन् ।
उनीहरूका भनाइमा पुटिनले पूर्वी युक्रेनमा जित हासिल गरे भने पनि त्यहाँ द्वन्द्व अन्त्य हुने सम्भावना रहेको देखिएको छैन ।
रुसले पूर्वी युक्रेनी भू-भाग कब्जा गर्न खोज्दा त्यहाँ ठूलो लडाइँ जारी रहेका बेला उनीहरूको यस्तो चेतावनी आएको हो । युक्रेनले उसको राजधानी किएभ कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरेपछि मस्कोले डोनबास क्षेत्रतर्फ आफ्ना सेनालाई पुनः केन्द्रित गरेको छ ।
त्यसका बावजूद पनि रुसी सेनाले गतिरोध सामना गरिरहेको अमेरिकी गुप्तचर निकायको भनाइ छ । गुप्तचर संयन्त्रका राष्ट्रिय निर्देशक एभ्रिल हेन्सले मंगलबार अमेरिकी सिनेटको एउटा समितिमा भएको सुनुवाइका क्रममा त्यस्तो विवरण दिएकी हुन् ।
उनले पुटिनले ‘डोनबास क्षेत्रभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न’ चाहेको तर ‘आफ्नो महत्वाकांक्षा र वर्तमान रुसी परम्परागत सैन्य क्षमताबीच बेमेल सामना गरिरहेको’ बताइन् ।
उनका भनाइमा रुसी राष्ट्रपतिले युक्रेनमा ईयू र अमेरिकाले दिइरहेको सहयोगको ‘सम्भवत:’ मूल्याङ्कन गरिरहेको बताएकी छन् । यद्यपि रुसी राष्ट्रपतिले युद्ध जारी रहँदा ‘थप कठोर माध्यम’ प्रयोग गर्नसक्ने उनको भनाइ छ ।
तर उनले रुसका लागि नै ‘अस्तित्वको खतरा’ महसुस गरेको अवस्थामा मात्र पुटिनले परमाणु अस्त्रहरू प्रयोग गर्नसक्ने बताइन् । बीबीसी

प्रतिक्रिया