सोमबार, वैशाख २९, २०८२

फिलिपिन्समा पूर्वराष्ट्रपति परिवारका सदस्य नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित

नेपालखोज २०७९ वैशाख २८ गते १०:१८

फिलिपिन्स । फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान् राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भएका छन् । पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेद्वारहरू उठाएका थिए ।

दुई प्रभावशाली राजनीतिक नेताहरूको तालमेलका कारण उनीहरूका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मंगलबार विजयी भएका छन् । राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएको र त्यो सङ्ख्या मार्कोसको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो । त्यस अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति र एक हजार २०० सिनेटरसहित ३०० भन्दा बढी संसदका प्रतिनिधि साथै एक हजार ७०० भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरू रहेका छन् । मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए ।

पूर्व सिनेटर समेत रहनु भएका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नु हुनेछ । अहिलेका राष्ट्रपतिको छ बर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरु भएका छन् ।

फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेद्वारी दिएका थिए । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो । रासस

प्रतिक्रिया