तीस वर्ष भयो, धारा सुक्दै गयो !

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका-१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै मुहान छ ।
दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयवासीले दैनिकी गर्न भ्याउँदैनन् । खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राति ४ बजेदेखि कुरेर पानी भर्दा बिहानभर लाग्ने गरेको गुनासो गरे । तीस वर्षअघि बनेका ५० वटा धाराको भरमा वडा नं १ को सबै बस्तीमा अझै पानी वितरण छ । पानी सुक्दै गएपछि स्थानीयवासीले राति ४ बजेदेखि नै उठेर लाइन बस्दा पनि चाहेजति भर्न नपाएको गुनासोसमेत गरेका छन् । तीस वर्षअघि तुम्डाँडाका प्रेमलाल पोखरेलले १२ किमी परको तारेभिरमा पुगेर पानीको मुहान भेटेका थिए ।
विश्व सेवा लुथ्रन नामक संस्थाले यो आयोजना निर्माण गरेको थियो । पोखरेल अहिले ७५ वर्षका हुनुभयो । उनि हिँडेर मुहानसम्म पुग्न सक्दैनन् । गाउँलेले अझै अर्को मुहान भेटेका छैनन् । पहिलाको जनसङ्ख्या बढेर दोब्बर भइसक्यो । ‘एक घर, एक धारा’को अभियान पनि सुरु भयो तर पुरानो पानी घट्दै गएको छ । त्यसैले सरसफाइ अभियानलाई खानेपानी चुनौती बनेको छ ।
तुम्डाँडाकी सीता विकले पानी खेप्ने हतारोले छोराछोरी समयमा बिद्यालय जान नपाएको गुनासो गरे । पानी भरिसकेपछि मेलापात, खेतीपाती गर्नु त छँदैछ । उनको टोलमा १० घरलाई एउटामात्रै धारो छ । दगागाउँको वडाभवन नजिकैको धारामा त १५ घरले पानी थाप्नुपर्छ । रातिदेखि लाइन बस्छन् ।
कसैले पालो मिचेमा झगडासमेत हुन्छ । समयमा उठ्न सकिएन भने त पानी थाप्नै नपाइने भुजेलले बताए । भुजेलले भने, ‘पानी खेपेर २०० लिटरको ड्रम भरेर भित्र राखेपछि मात्रै ढुक्क हुन्छ । नत्र खानेपानीदेखि शौचालयसम्मको समस्या छ ।’ बारीमा तरकारी फलाउने, गाईभैँसीलाई खुवाउने काममा त झनै धेरै पानी चाहिन्छ । दैनिक एक हजार लिटर पानी नभएसम्म दैनिकी नचल्ने भुजेलले बताए ।
टुटीफेद, गहते, सिमलचौरलगायतका बस्तीमा पनि पानीको सास्ती छ । पुरानो मुहान धेरै स्थानमा भत्केको छ । पानीको चुहावट छ, त्यसैले यहाँ नियमित पानीसमेत आउँदैन । स्थानीयवासीकै पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानी खुवाउने काम भने थालेको तर टुक्रे बजेटले यो अभियान पूरा हुन नसकेको हो ।स्थानीयवासीले भने, ‘केही ट्यांकी त निर्माण भइरहेका छन्, तर बजेट अभावले पूरा भएका छैनन् । पूर्ण सरसफाइयुक्त वडा बनाउन लागेका छौँ, पानीकै समस्या भयो ।’ सबै घरमा शौचालय बने पनि पानीकै कारण कतिपय प्रयोगमा आउन नसकेको उनले बताए ।
स्थानीय मूल सुक्दै गएकाले तारेभिरबाटै पानीको स्रोत बढाएर ल्याउनुपर्ने बाध्यता भएको स्थानीय बोमबहादुर थापाले सुनाए । हाल निर्माणाधीन आयोजनामा पुगेर मर्मत गर्नसमेत एक दिनमा नसकिने उनले बताए । थापाले भने, ‘बिहानै गएका कामदार दिउँसो पुग्छन्, दुई घण्टा काम गरेर फर्कन हतार हुन्छ । तारेभिरमा बस्न खानाको समस्या समेत छ ।’ दुई महिनाअघि यहाँ निर्माणाधीन आयोजनाबाट लडेर एक कामदारको मृत्यु भएपछि स्थानीय जानसमेत डराउँछन् । तारेभिर वडा नं ३ सिसाखानी र वडा नं ४ जलजलाको सिमानामा पर्छ ।
पानीकै अभावले ७०० विद्यार्थी रहेको खड्गदेवी माविमा शौचालय फोहर छ । एउटा धाराको भरमा पानी वितरण गर्दा खाने, सरसफाइलगायतमा अपुग भएको शिक्षकहरूले गुनासो गरे । कतिपय बालबालिका शौच गर्नसमेत घर-घरमा जाने गरेका छन् । स्थानीयवासी दुर्गा थापाले भने, ‘पानी नभएर घरमै आएर शौचालय जान्छन् । पानीकै कारण खुला दिसामुक्त अभियान सफल पार्न कठिन भएको छ ।’आनीबानी परिवर्तन गरेर पूर्ण सफाइ वडा घोषणाको तयारी गरे पनि पानीले चुनौती थपेको उनले गुनासो गरे।-रासस

प्रतिक्रिया