बुधबार, असोज २, २०८१

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते प्रस्तुत गरिने

नेपालखोज २०७९ वैशाख २८ गते १५:००

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद् अधिवेशन आह्वान गरेका थिइन् ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए ।

सवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकाले राष्ट्रपतिले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी थिइन् । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने उनले बताए । संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्डलगायतका भौतिक तयारी पूरा गरेको बताए ।

उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको उल्लेख गरे । जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताए । जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधानअनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने उनले बताए । पाण्डेका अनुसार प्रतिनीधि सभासंगै ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि सुरु हुने बताए ।

प्रतिक्रिया