चितवनका पाँच नेतालाई कांग्रेसले गर्यो निलम्बन

काठमाडौं । नेपाली कांग्रेस चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरिएको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध लागेको भन्दै कांग्रेसले पूर्वसांसद र तरुण दलका पूर्वकेन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो ।
नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसदसहित पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ । कांग्रेसले पार्टीका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, तरुण दलकै पूर्वजिल्ला सचिव आनन्दराज राउत, कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा. केशव पौडेललाई निलम्बन गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरुविरुद्ध क्रियाशील रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएका हुन् ।भरतपुरमा पाँच दलीय गठबन्धनबाट माओवादीकी रेणु दाहाल मेयरकी उम्मेदवार छिन् । पार्टीले मेयर माओवादी केन्द्रलाई छोडेको भन्दै चितवन कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
भरतपुर महानगरपालिकामा पाँच दलीय सत्ता गवठबन्धनबाट माओवादी केन्द्रकी नेत्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु मेयर उम्मेदवार बनेकी हुन् । उनीविरुद्ध कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टी निर्देशनअनुसार उम्मेदवारी फिर्ता नगरेका पौडेलसँगै उनको उम्मेदवारीमा प्रस्ताव र समर्थन गर्नेहरुलाई समेत कांग्रेसले कारबाही गरिसकेको छ ।

प्रतिक्रिया