पर्सामा चुनावको तयारी : सुरक्षाका लागि साढे २७ सय प्रहरी परिचालन
पर्सा । पर्सामा भोलि हुने स्थानीय निर्वाचनका लागि मतदान स्थलको तयारी अन्तिम चरणमा पुगेको छ । मतदान अधिकृतले सर्वदलीय बैठक गर्ने, मतदाता परिचयपत्र वितरण गर्नेलगायतका काम सम्पन्न गरेका हुन् ।
निर्वाचनका लागि पर्सा जिल्लाका १४ वटै स्थानीय तहका मतदान स्थलमा खटिएका मतदान अधिकृतले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा गराउन तयारी गरेका छन् । मतदानका लागि ‘बुथ’ निर्माणको काम भइरहेको छ । चुनावलाई स्वच्छ र भयरहीत बनाउन जिल्लाभर सुरक्षा प्रवन्ध चुस्त पारिएको वीरगञ्ज महानगरपालिका सहायक प्रमुख निर्वाचन अधिकृत जयप्रकाश काफ्लेले जानकारी दिए ।
जिल्लामा रहेको सबै मतदान केन्द्रमा सुरक्षा विश्लेषण गरी सोअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको पर्सा प्रहरीले जनाएको छ । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा निकायलाई जिम्मेवारीअनुसार परिचालन गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । उनका अनुसार जिल्लामा साढे २७ सय प्रहरी परिचालन गरीएको र सबै आफ्नो काममा लागेका छन् ।
भारतसँंग खुला सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशिलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रवन्ध मिलाएको उल्लेख गर्दै भारतँंग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्र अत्यन्तै संवेदनशीलको रुपमा लिइएको छ ।
निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गर्ने द्विपक्षीय सहमति भइसकेकाले यही वैशाख २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्मका लागि सीमाक्षेत्रबाट हुने आवागमन पूर्णरूपले बन्द गरिएको छ । जिल्लामा एक महानगरपालिका, तिन नगरपालिका र १० गाउँपालिका रहेको छ ।
प्रतिक्रिया