देशभर निर्वाचन शान्तिपूर्ण : जियोक

काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले निर्वाचनको प्रथम चरणमा मतदाताहरुको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ । आज गरेको पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका निर्वाचन पर्यवेक्षकहरुले शान्तिपूर्ण रुपमा चुनाव भइरहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ का पर्यवेक्षक कल्याणकुमार श्रेष्ठले शाीन्तपूर्णरुपमा निर्वाचन भइरहेको बताए । उनले राजनीतिक दलहरुले पनि संयमता अपनाएर निर्वाचनमा सहभागिता भएको र आम मतदाताहरुले पनि संयमता अपनाएको उल्लेख गरे । उनले मतदानमा सहभागी हुनेमा ज्येष्ठ नागरिकहरु, महिलाहरु र अपाङ्गहरु पनि उल्लेख्य रहेको पाइएको बताए ।
उनले अपाङग्हरुका लागि अपाङ्गमैत्री मतदान स्थल नभएकोले त्यसलाई आगामी दिनमा सुधार गर्नुपर्ने बताए । उनले मतदाताहरु मध्येमा लगभग ८० प्रतिशत मतदाताले मतदाता परिचयपत्र लिएर मतदान गर्न आएको बताए । पर्यवेक्षक श्रेष्ठले काठमाडौं जिल्लाका विभिन्न मतदान केन्द्रहरुको अवलोकन तथा निरीक्षण गरे ।
त्यस्तै पूर्व प्रधान्यायाधीश तथा पर्यवेक्षक सुशीला कार्कीले भक्तपुरका विभिन्न ९ मतदान केन्द्रहरुको अवलोकन गरेकी थिइन् । जसक्रममा अधिकांश स्थानमा महिला निर्वाचन अधिकृत पाइएको बताइन् । त्यस्तै निर्वाचन भने शान्तरुपमा नै भइरहेको र मतदान केन्द्रमा व्यवस्थापकिय कुराहरुमा विशेष जोड दिएको पाइएको बताइन् । पर्यवेक्षक कार्कीले भक्तपुरका केही स्थानमा उम्मेदवारहरुले मतदाताका लागि खानाको व्यवस्था आफ्नो घरमा गरेको पाइएको पनि बताइन् । उनले मध्यान्हसम्म अधिकांश मतदान केन्द्रमा आधाभन्दा बढी मत खसिसकेको बताइन् ।
त्यस्तै पर्यवेक्षक एवं पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा मतदाताको उपस्थिति उल्लेख्य रहेको बताए । उनले जुनकुनै उमेर समूहका मानिसहरु पनि आफ्नो मताधिकारको प्रयोगका लागि आएकोले सहभागिता उत्साहपूर्ण रहेको बताए । उनले कुनै पनि मतदान केन्द्रमा निर्वाचन सामग्रीहरु नपुगेको गुनासो नआएको र सुरक्षा व्यवस्था पनि राम्रो भएको पाइएको बताए ।

प्रतिक्रिया