आइतबार, जेठ ६, २०८१

युगाण्डासँगको श्रृंखलाका लागि नेपाली महिला क्रिकेट टोली उत्साहित

नेपालखोज २०७९ वैशाख ३१ गते १७:३०

काठमाडौं । पुरुष राष्ट्रिय क्रिकेट टोलीको तुलनामा महिला क्रिकेट टोलीले विरलै मात्र प्रतियोगितामा अवसर पाउँदै आएका छन् । केही अन्तर्राष्ट्रिय खेल बाहेक अन्य प्रतियोगिता आयोजना हुन नसक्दा महिला टोली सिमित प्रतियोगितामा मात्र खुम्चिँदै आएको छ ।

तर यसपटक भने नेपाल क्रिकेट संघ (क्यान)ले महिला टोलीका लागि युगाण्डासँग आइतबारबाट पाँच ट्वान्टी–२० श्रृंखलामा समावेश गर्दैछ । उक्त श्रृंखलमा सहभागि हुन पाउँदा टोली निकै उत्साहित छ ।र, घरेलु मैदानमा आयोजना हुन लागेको श्रृंखलाका लागि टोलीले सुखद् नतिजा निकाल्न अभ्यास तीव्र रुपमा दिएको छ ।

सिमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको नेपाली महिला टोली आइतवारबाट आयोजना हुने पाँच ट्वान्टी–२० श्रृखंलाका लागि उत्साहित हुँदै तयारी गरिरहेको छ । बिरलै मात्र यस्ता अवसर पाउने गरेको नेपाली महिला टोली पहिलोपटक स्वदेशमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । युगाण्डाविरुद्ध हुने खेल ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेकाले यसले नेपालको विश्व वरियतामा पनि असर गर्नेछ ।

त्यसका लागि प्रशिक्षक जगत टमाटाले २२ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको नाम पनि सार्वजनिक गरिसकेका छन् । केही अनुभवी अनुहार समेट्दै घोषणा भएको टोलीको तयारी राम्रो भएको जनाएको छ । घरेलु मैदानमा आयोजना हुन लागेको श्रृंखलाका लागि नेपाली टोली उत्साहित भएको प्रशिक्षक टमाटाले बताए ।

घोषणा भएको टोलीमा यसपटक टोलीमा यु–१९ का केही खेलाडी पनि समावेश छन् । सँगै अनुभवि खेलाडी पनि छन् । प्रशिक्षक टमाटाले भ्रमणमा आउन लागेको टोली नेपाली टोली स्तरकै भएको भन्दै श्रृखंला प्रतिस्पर्धात्मक हुने बताए । सोही कारण तयारीलाई तीव्रता दिइएको टमाटाको भनाइ छ ।

श्रृंखलाका लागि युगाण्डाको टोली आईतवार साँझ मात्र नेपाल आइपुग्ने तालिका रहेको छ । यस्तै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र उपकप्तान सीता राना मगर पनि नेपालमा छैनन् । फेयर ब्रेकको खेलका लागि क्षेत्री र मगर नेपाल बाहिर रहेका छन् । क्यानका अनुसार रुबिना आइतबार नेपाल आइपुग्ने छिन् भने सीता एक वा दुई खेल पछि टोलीमा जोडिने बताइएको छ । घरेलु मैदानमा हुन लागेको श्रृंखला नेपाली टोलीका लागि अनभुव सँगाल्ने अवसर भएको नेपाली टोलीकी सदस्य इन्दु बर्माले बताइन् ।

नेपाली महिला टोलीले आइतवाबाट विश्व वरीयताको १९ औं स्थानमा रहेको युगाण्डासँग खेल्न लागेको हो । नेपाल र युगाण्डाबीचको पहिलो ट्वान्टी–२० खेल जेठ २ गते हुनेछ भने दोस्रो जेठ ३ गते र तेस्रो जेठ ५ गते हुनेछ । यस्तै चौथो जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ ।

प्रतिक्रिया