केपी ओलीको गृहनगर दमकमा राप्रपाका थापा अगाडि, एमालेकी अधिकारी पछिपछि
काठमाडौं । झापाको दमक नगरपालिकामा राप्रपाबाट मेयरका उम्मेद्वार राम थापा २८२ मतले अगाडि रहेका छन् । उनले ३०२७ मत प्राप्त गर्दा एमालेकी उम्मेद्वार गीता अधिकारीले २७४५ मत ल्याएकी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक हो । एमालेलाई हराउनका लागि थापाले गठबन्धनबाट उम्मेद्वारी दिएका थिए । दमकलाई ओलीको गृहनगर भएकाले पनि सबैजसो पार्टीले प्रतिष्ठाको विषय बनाएका थिए । दमकमा अधिकारीलाई हराउनु ओलीलाई पराजित गरेसरह गठबन्धनका नेता-कार्यकर्ताले मानेका छन् । उपमेयरमा पनि कांग्रेसबाट उम्मेद्वारी दिएकी रेगिना भट्टराई अगाडि छिन् ।
एमालेलाई पछि पार्दै राप्रपाले अग्रता लिएको हो । केही समय अघिसम्म अग्रता लिएकी झापाको दमक नगरपालिकाकी एमालेकी मेयर पदकी उम्मेद्वार गीता अधिकारी अहिले पछि परेकी छिन् । पछिल्लो मत परिणाम अनुसार राप्रपाका मेयर पदका उम्मेदवार राम थापाले अहिले अग्रता लिएका हुन् ।
अधिकारी यसअघि २०७४ को स्थानीय निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् । मेयरमा पनि राम थापालाई हराउँदै एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली निर्वाचित भएका थिए । तर पाँच वर्षपछि थापाले बदला लिने सम्भावना देखिएको छ । थापा स्थानीय चर्चित र लोकप्रिय नेताका रुपमा परिचत छन् ।
दमकमा राप्रपालाई पराजित गर्दै दमक-१ मा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । खसेको ३९४१ मतमा १६८६ मत ल्याएर हरि न्यौपाने विजयी भए । गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार ताराप्रसाद अधिकारीले १६२४ मत ल्याए ।
प्रतिक्रिया