नक्कलीजस्तो देखिने नेपाली नोटसहित एकजना पक्राउ
नेपालखोज
२०७९ जेठ १ गते १६:२५

सर्लाही । नक्कलीजस्तो देखिने नेपाली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सर्लाहीको गोडैता नगरपालिका ८ स्थित गोडैता बजारबाट नक्कलीजस्तो देखिने नेपाली एक हजारको चारथान नोटसहित भारत सीतामढी रनौली १० का २२ वर्षीय सरोजकुमार बैठालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
उक्त स्थानमा सोही नगरपालिका ५, रामवन घर भई पार्चुनको पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किनमेल गर्ने क्रममा नक्कलीजस्तो देखिने नेपाली एक हजारको नोट दिएको खबर पाएपछि प्रहरीले बैठालाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त नोट फेला पारेको विज्ञप्तिमार्फत जनाएको छ ।
बैठाको साथबाट सक्कलीजस्तो देखिने नेपाली नोट पाँच सयको एकथान, सयको नोट दुईथान र ५० को नोट एकथानसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया