शनिबार, असोज ५, २०८१

अपेक्षाकृत नतिजा आउन नसकेकामा विवेकशील साझा पार्टी दुःखी

नेपालखोज २०७९ जेठ २ गते १४:०५

काठमाडौं । स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा आउन नसकेकोमा अत्यन्तै दुःखी भएको विवेकशील साझा पार्टीले जनाएको छ । अनेक आरोह-अवरोह पार गर्दै स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा अपेक्षाकृत नजिता प्राप्त गर्न नसक्दा दुःख लागेको पार्टी प्रवक्ता शरदराज पाठकले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगतमा स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसक्दा देशमा पार्टीको परिचय स्थापना गर्न भने सफल भएको सो पार्टीले दाबी गरेको छ । तर निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसकेको पार्टीले स्वीकार गरेको छ । देशव्यापी संगठन र जनशक्ति स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक भएको महसुस गरेको विज्ञप्तिमा उल्लेख छ ।

टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नु परेको उल्लेख गर्दै आशा गरिएको पार्टीभित्रको उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखिएको विज्ञप्तिमा उल्लेख छ । पार्टी सन्चालनका क्रममा कमजोरी भई जनताको मन जित्न नसकोप्रति सो पार्टीले माफी मागेको छ ।

अपवादलाई छोडेर, पार्टी निर्माणको स्वाभाविक प्रसव पीडाबाट पार नगरी संसारमा कुनै पनि पार्टी र नेतृत्व निर्माण नभएको वीवेकशील पार्टीले स्वीकार गरेको छ । ‘पाँच वर्ष हामी त्यही प्रक्रियाबाट गुज्रियौँ । यो तथ्यलाई पनि मनन गरिदिन हामी विनम्र आग्रह गछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेजको भूमिका रहेको कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमले गरेको विश्लेषण सोचनीय विषय देखिएको पार्टी प्रवक्ता पाठकले जनाएका छन् । विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ’, विज्ञप्तिमा उल्लेख छ ।

वैचारिक उथलपुथल र कयौँ कमजोरीका बाबजुद आफूहरूले इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै नगुमाएको र नगुमाउने प्रवक्ता पाठकले दाबी गरेका छन् । गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट धेरै सिकेको बताउँदै प्रवक्ता पाठकले ती सिकाइका आधारमा अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्ने बेला आएको जनाएका छन् ।

प्रतिक्रिया