शनिबार, वैशाख १५, २०८१

अप्पो दिप्पो भव !

सुनील सापकोटा २०७९ जेठ २ गते १५:१५

आज बुद्ध जयन्ती । बुद्धलाई हिन्दु धर्ममा भगवान् विष्णुको अवतारका रुपमा मानिन्छ । हुन त वेदमा अवतारवादको कुनै उल्लेख छैन । यो अवतारवादको अन्धविश्वास पछि जोडिएको हो । वैदिक सनातन धर्मलाई बुद्धले अस्वीकार गरेका छन् ।

म बुद्धको दुई प्रसिद्ध स्थानमा गएको छु । एउटा भारतको विहार राज्यको वोधगया र अर्को नेपालको लुम्बिनी । हिन्दु धर्मावलम्बी बुद्ध विहारहरुमा पनि आफ्नै हिन्दु परम्पराले बुद्धलाई पनि हेर्ने गर्छन्, जो गलत छ ।

मैले बुझेसम्म बुद्धको मूर्ति सामुन्ने केही नमाग्नुस् । हिन्दु देवी-देवताजस्तो बुद्धले केही पनि वरदान दिँदैनन् । बुद्धको मूर्ति सामुन्ने रोएर, कराएर, गिडगिडाएर केही पाइनेवाला छैन । न पूजा गर्नु, न प्रार्थना गर्नु, न हात फैलाउनु, न दयाको भिख माग्नु । उनीसँग सुखको, समृद्धिको, चिरायूको आशीर्वाद मागेर पाइनेवाला छैन ।

वास्तवमा भन्ने हो भने बुद्ध वा बुद्ध पुरुषहरुले कसैलाई केही दिन नै सक्दैनन् । बुद्ध पुरुषले त मानिसभित्रको सुतेको चित्तलाई जगाउने मात्र हो । जो लुकेको ज्ञान छ त्यसलाई जागृत गराउने मात्र हो । मानिसहरुसँग रहेको अपार क्षमताहरुको आभास गराउँदै सबैलाई बुद्ध बन्न प्रेरित गर्ने मात्र हो । ताकि हरेक व्यक्ति बुद्ध बनोस् र आफ्नो सुख र शान्तिका लागि कसैका अगाडि दयाको भिख नमागोस् । यो बाटो हिँड्न गाह्रो र लामो छ । तर सत्यको बाटो यही होला हिन्दु देवी-देवताहरुबाट जस्तो यो बुद्ध धर्ममा चमत्कार, समत्कार केही हुनेवाला छैन ।

बुद्ध पुरुषहरुले न पैसा दिन्छन्, न पद, न मान-प्रतिष्ठा । त्यसैले कहिले पनि तपाईंहरु गौतम बुद्धको प्रतिमाअघि फूल नचढाउनु होला । प्रार्थना नगर्नुहोला । उनको प्रशंसामा मन्त्र पढेर चाप्लुसी गर्ने, खुसामद गर्ने र फकाउने काम कुरा नगर्नुहोला । यस्तो गर्नुभयो भने तपाईंको सम्पूर्ण प्रयास बेकार जान्छन् ।

बुद्धले बताएको कुरा बुझ्नुस्, मनन गर्नुस् । चित्त नबुझे छाड्नुस् । बुद्धमार्गी नै हुनुपर्छ भन्ने छैन । म बुद्धमार्गी होइन पनि । तर म सबै धर्म बुझ्न खोज्छु । बस् सत्यको मार्गलाई बुझ्नुस् । बुद्ध धर्मले मानव कल्याणको चार आर्य सत्य र अष्टांगिक मार्ग बताएको रहेछ । शील, समाधि, प्रज्ञा, प्रेम, करुणा, दया, मैत्री आदि बुद्धका दर्शनमा रहेछन् ।

त्यसैले आज बुद्धको मूर्ति/प्रतिमालाई दुनियाँमा केहीले जुन तोडफोड र क्षति पुर्‍याइरहेका छन् ती सबै मूर्ख हुन् । कसैले बुद्धलाई गाली र अपमान गर्दैमा रिसाउने कुरा पनि रहेनछ । किनभने बुद्ध न विहारहरुमा छन्, न शास्त्रहरुमा, न मूर्तिहरुमा छन् । बुद्धलाई भेट्ने हो भने उनले भनेको मार्गमा हिँड्नुपर्छ ।

बुद्धको ज्ञान वा दर्शन नै मनुष्यभित्र रहेको मनको अँध्यारोलाई हटाएर बत्ती बाल्नु हो । अर्थात् अज्ञानता भगाएर सत्यको खोज गर्नु हो । ‘ईश्वर र बुद्ध सँगै रहन सक्दैनन् । ईश्वर काल्पनिक कुरा हो भने बुद्ध यथार्थ वक्ता हुन्’ भन्ने भनाइ भारतका दार्शनिक राहुल सांस्कृत्यानको पुस्तक मेरो जीवन यात्रामा उल्लेख गरिएको शब्दको पैंचो लिँदै यो लेखको अन्त्य गर्छु ! बुद्ध जयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना !

प्रतिक्रिया