सोमबार, वैशाख २९, २०८२

युक्रेनले युद्ध जित्न सक्छ !

नेपालखोज २०७९ जेठ २ गते २०:२७

बर्लिन । नाटोका प्रमुख जेन्स स्टोलटेनबर्गले एउटा महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्दै भनेका छन्- युक्रेनमा रूसको युद्ध उसको योजनाअनुरुप चलिरहेको छैन । स्टोलटेनबर्गका अनुसार रुसीहरु किएभ जित्न विफल भए, उनीहरु खारकीभबाट पनि पछाडि हटिरहेका छन् भने डोनबासमा रुसको ठूलो हमला रोकिएको छ ।

नाटो प्रमुख जेन्स स्टोलटेनबर्गले बर्लिनमा सम्पन्न एक बैठकमा भनेअनुसार युक्रेनले यो युद्धमा रूसलाई हराउन सक्छ । उनले नाटो गठबन्धनका मुलुकहरुसँग युक्रेनलाई सैन्य सहायता जारी राख्न अपिल गर्दै भनेका छन्, ‘युक्रेनले यो युद्ध जित्न सक्छ, युक्रेनियनहरु बहादुरीपूर्वक आफ्नो मातृभूमिको रक्षा गरिरहेका छन् ।’ स्टोलटेनबर्गले भनेका छन्, ‘हामीले अगाडि बढ्न जारी राख्नुपर्छ र युक्रेनलाई निरन्तर समर्थन दिइरहनुपर्छ ।’

युक्रेनलाई सैन्य सहायता दिन नाटो तयार
उक्त बैठकमा जर्मनीका विदेशमन्त्री एनालेना बेरबोकले नाटो गठबन्धनका देशहरु युक्रेनलाई सैन्य सहायता प्रदान गर्न तयार रहेक‍ो बताएका छन् । विदेशमन्त्री बेरबोकका अनुसार, ‘हामी के कुरामा सहमत छौँ भने जबसम्म युक्रेनलाई उसको आत्मरक्षाका लागि हाम्रो समर्थनको आवश्यकता रहन्छ तबसम्म हामीले विशेष रूपमा सैन्य समर्थनको मामिलामा सहयोग गर्नुपर्नेछ । यसमा न त कसैसँग झुक्नु हुन्छ न त सहयोग गर्न छोड्नु नै हुन्छ ।’

प्रतिक्रिया