बुद्धजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा

काठमाडौं । २५६६औं बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय योगगुरु राजन शर्माको पहलमा विश्वभरका ध्यान योग संगठनहरूको समन्वयमा नेपालबाट अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गरिएको छ ।
नेपाललगायत विश्वका ६० भन्दा बढी देशका ध्यानप्रेमीले प्रत्यक्ष एवं अनलाइनमार्फत सहभागिता जनाएका थिए । विश्वमा शान्ति, प्रेमको कामना गर्दै बौद्ध धर्म नअँगालेका देशहरूले पनि ध्यान दिवसको महत्त्व बोध गर्दै, यो दिवस मनाएका छन् । विश्व योग दिवसलाई नेपालले उठान गर्न चाहँदा–चाहँदै पनि पूर्णता प्राप्त गर्न नसके पनि ध्यान दिवसलाई भने पूर्णता प्राप्त गर्न सकोस् भन्ने अभिप्रायले, नेपालबाट घोषणा गरिएको ध्यान दिवसले विश्वभरका मानवलाई एकीकृत गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले स्वयम्भूस्थित गीता मन्दिरमा आयोजना गरेको थियो । जसमा विभिन्न संस्था, योगी, सन्त, महन्थ, तथा योग गुरुहरूको प्रत्यक्ष सहभागिता थियो । दीपप्रज्वलन, मन्त्रोउच्चारण, शंखघण्ट वादन गरी सहभागीहरूले एकै साथ ध्यान गरेका थिए । बुद्ध जयन्ती, गोरक्षनाथ जयन्ती, चण्डी पूर्णिमालगायतको अवसर पारेर दिवसको घोषणा गरेको आयोजकले बताएका छन् ।
कार्यक्रममा विश्व योगगुरु राजन शर्माले मानिसहरूमा आध्यात्मिक जागरण जरुरी रहेको र केवल ध्यानबाटै सम्भव हुने भएकाले बुद्ध पूर्णिमाको दिनलाई विश्व ध्यान दिवसका रूपमा स्थापित गरी नेपालको गौरव, गरिमा र बुद्धको पहिचान प्रतिष्ठित गरिनुपर्ने बताए । उनले यस दिशामा प्रयास गर्न नेपाली जनता, राजनीतिकर्मी र बुद्धिजीवीसँग आग्रहसमेत गरेका छन् ।



प्रतिक्रिया