मारिऊपोलमा घेराबन्दीमा परेका युक्रेनी सैनिकको उद्धार

काठमाडाैं । युक्रेनको बन्दरगाह सहर मारिऊपोलस्थित एउटा स्टील कारखानामा घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ । युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका छन् । उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नायकहरूलाई युक्रेनले जीवितै चाहेको बताएका छन् । उद्धार गरिएका सैनिकहरू रुस नियन्त्रित क्षेत्रमा छन् । मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा थिए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार ती सैनिकहरूको उद्धार कार्यमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रम संलग्न थिए । एजोभस्टाल स्टील कारखानामा रुसी अतिक्रमणविरुद्ध युक्रेनी प्रतिरोधको एउटा प्रतीक बनेको छ । युक्रेनी सेनाको दाबी अनुसार उक्त बन्दगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रुसी सैनिक संलग्न थिए।
कारखानाको सुरुङमा रही सयौँ सैनिकले युक्रेनका तर्फबाट प्रतिरक्षा गर्दै आएका थिए । रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको उक्त बन्दरगाह शहरमाथि रुसी फौजहरूले अतिक्रमणको शुरूदेखि नै भीषण बमबारी गर्दै आएका छन् ।
मारिऊपोलमाथि रुसले कब्जा गर्नुको अर्थ क्राइमिया र डोन्बासबीच सेतु पाउनु हो र त्यसो भए युक्रेनको ब्ल्याक सी तटीय क्षेत्रका ८० प्रतिशतभन्दा बढी भूभागमा रुसको नियन्त्रण हुनेछ ।
रुसी फौजको बमबारीका कारण दशौँ हजार सर्वसाधारण मारिएको र शहरका सडकहरूमा शवहरू अलपत्र परिरहेको युक्रेनले जनाएको छ । तर सर्वसाधारणलाई निशाना बनाएको कुरा रुसले निरन्तर अस्वीकार गर्दै आएको छ । बीबीसी
प्रतिक्रिया