शुक्रबार, वैशाख ७, २०८१

नेप्सेमा एकैदिन ८४ अंकले गिरावट, कारोबार रकम १ अर्ब ६४ करोडमा खुम्चियो

नेपालखोज २०७९ जेठ ३ गते १५:४०

काठमाडौं । स्थानीय तहको निर्वाचनअघिको एक साता लगातार बढेको नेप्से निर्वाचनपछि पुनः घटेको छ । निर्वाचनपछिको पहिलो दिन अर्थात् आज मंगबार खुलेको नेप्से सुरुवाती समयदेखि नै घट्न थालेको थियो । जसअनुसार आज अन्तिम समयसम्म आइपुग्दा नेप्से ८४ दशमलव नौ अंकले घटेर २२ सय ६५ दशमलव ५२ अंकमा झरेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव २७ अंकले घटेर चार सय ३९ दशमलव ६९ अंकमा झरेको छ । आज दुई सय २१ कम्पनीको ३३ हजार ६ सय १० पटकको कारोबारमा ३५ लाख ९५ हजार पाँच सय ६८ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये कुल कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ५० हजार दुई सय ३९ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव ९५ अंकले घटेर १५ सय ५३ दशमलव २० अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि एक सय ६३ दशमलव ६९ अंकले घटेर तीन हजार नौ सय १६ दशमलव १८ अंकमा झरेको छ ।

‘स्थानीय तहको निर्वाचन सम्पन्न भएपछिको पहिलो सेयर कारोबार भएन सन्तोषजनक, लगानीकर्ता निराश’

जलविद्युत् समूहको सूचक एक सय ४२ दशमलव पाँच अंकले घटेर २५ सय ५८ दशमलव ८२ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक चार सय ८५ दशमलव ८१ अंकले घटेर नौ हजार आठ सय ७२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि पाँच सय ९२ दशमलव ५९ अंकले घटेर ११ हजार तीन सय पाँच दशमलव नौ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ९६ प्रतिशतले बढेर १३ सय ९६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर पाँँच सय ५४ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्र्रतिकित्ता २२ सय ७० रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ७९ लाख नौ हजार पाँच सय १३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया