शनिबार, जेठ ५, २०८१

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकबाटै हुने

नेपालखोज २०७९ जेठ ३ गते १६:४३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार समुद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ ।

बैंकले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्न सेवा विस्तार गरेको छ । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रवाह गर्न बैंकले सोमबारबाट पाँच नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले विमानस्थलभित्र डिपार्चर काउन्टर, बोर्डिङ वेटिङ काउन्टर, एराइभल काउन्टर, कस्टम र कार्गो काउन्टर सञ्चालनमा ल्याइएको छ । काउन्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटीएम, पीओएस सेवा तथा अन्य बैंकिङ करोबार गर्न सकिनेछ ।

बैंकको पाँच काउन्टर सञ्चालन

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेसन विभागकी विभागीय प्रमुख दुर्गाकुमारी कँडेल, सूचना प्रविधि विभागका बरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, शाखा कार्यालय भैरहवाका शाखा प्रबन्धक हरिराम पराजुलीलगायतको उपस्थिति थियो ।

देशभर बैंकको हाल २५८ शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया