खोटेहाङ गाउँपालिकाको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी

नेपालखोज २०७९ जेठ ३ गते २२:०१

काठमाडाैं । खोटेहाङ गाउँपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेद्वार माओवादी केन्द्रका उदिमबहादुर राई ‘मुक्ति’ प्रमुख र कांग्रेसका रुपेश राई उपप्रमुखमा विजयी भएका छन् ।

मुक्तिले तीन हजार ७२८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की कविता राईले तीन हजार ६९० मत प्राप्त गरेका निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले जानकारी दिए । प्रमुखमा पराजित हुनुभएका कविता यसअघिको निर्वाचनमा एमालेबाट सोही गाउँपालिकाको उपप्रमुखमा निर्वाचित थिए ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको खोटेहाङ गाउँपालिकाको उपप्रमुखमा विजयी कांग्रेसका रुपेशले तीन हजार ७३७ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन बञ्जाराले तीन हजार ३१० मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा एमाले र माओवादी दुई/दुई तथा कांग्रेस चार पालिकामा विजयी भएको छ । मतगणना भइरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन तथा हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको अग्रता छ ।

प्रतिक्रिया