गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको पहिलाे उडान
काठमाडाैं । कवेतको अग्रणी एयरलाइनस जजिरा एयरवेजले मध्य-पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजिराले भैरहवास्थित नवनिर्मित गौतम बद्ध अन्तर्राष्टिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुवात गरेको हो ।
यसबाट मध्य-पूर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन् । यो नेपालमा जजिराको दोश्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत जेष्ठ १ गतेबाट उडान सेवा सुरु भएको थियो । नयाँ हवाइ रुटको बारेमा बोल्दै जजिरा एयरवेजका भाइस प्रेसिडेन्ट रविन्द्रन भाराथनले भन्छन्, ‘जजिरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ-नयाँ गन्तव्यहरु थप्दै गइरहेको छ । यसले गर्दा कुवेत र मध्य-पूर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग)ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ ।’
अब नेपाली एवं विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ । आरआर ग्रुप अफ कम्पनिको भगिनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंह भन्छन्, ‘७४ वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्तर्राष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुऱ्याउनेछ । जसले समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्छ ।’
प्रतिक्रिया